• Menu

प्रेस स्वतन्त्रतामाथिको आक्रमण स्वीकार्य छैन, संलग्नलाई तत्काल कारबाही गरियोस् : रास्वपा

नेपाल प्रफिट

२०८३ असार २९, १७:२३

प्रेस स्वतन्त्रतामाथिको आक्रमण स्वीकार्य छैन, संलग्नलाई तत्काल कारबाही गरियोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारगृहको प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा सोमबार जारी विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिता लोकतन्त्रको आधारशिला भएकाले त्यसलाई त्रसित बनाउने उद्देश्यले गरिने कुनै पनि गतिविधि अस्वीकार्य रहेको उल्लेख गरिएको छ ।

रास्वपाले सञ्चारगृह र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा पार्ने वा उनीहरूको स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा हस्तक्षेप गर्ने प्रयास लोकतान्त्रिक मूल्य-मान्यता र प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष आक्रमण भएको जनाएको छ ।

विज्ञप्तिमा घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारगृहको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, साथै संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरिएको छ ।

रास्वपाले आफू सधैं पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै सूचना तथा सञ्चार स्वतन्त्रतामाथि अंकुश लगाउने वा सञ्चार क्षेत्रमा त्रास सिर्जना गर्ने कुनै पनि गतिविधिलाई स्वीकार नगर्ने स्पष्ट पारेको छ ।

साथै, पार्टीले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासको प्रभावमा नपरी सत्यतथ्यमा आधारित जिम्मेवार पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षाका पक्षमा सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याएको छ ।