• Menu
s

आप्रवासनको पीडा र मानवीय संघर्ष बोकेको डा. चन्द्र गिरीको उपन्यास ‘डङ्‍की, सपनाको कालबाटो’ सार्वजनिक

नेपाल प्रफिट

२०८३ असार १५, १२:३४

आप्रवासनको पीडा र मानवीय संघर्ष बोकेको डा. चन्द्र गिरीको उपन्यास ‘डङ्‍की, सपनाको कालबाटो’ सार्वजनिक

काठमाडौं । विज्ञानको क्षेत्रमा ख्याति कमाएका डा. चन्द्र गिरीद्वारा लिखित उपन्यास ‘डङ्‍की’ सपनाको कालबाटो’आइतबार लोकार्पण गरिएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा लेखक गिरीसहित मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासी, पत्रकाररलेखक वसन्त बस्नेत, लेखिका बिना थिङ र साहित्यकार शंकर गिरी पथिकले उपन्यास लोकार्पण गरेका छन्।

कार्यक्रमका वक्ताहरुले डङ्‍की उपन्यासले आप्रवासन, सपनाको खोजी र मानवीय संघर्षको यथार्थ चित्रण गरेको बताए। देशको जल्दोबल्दो विषयलाई किताबले उजागर गरेको भन्दै उनीहरुले यसमा सरकारको समेत ध्यानाकर्षण हुनुपर्ने धारणा राखे।

लेखक कृष्ण धराबासीले यही विषयमा आफूले तल्लो बाटो उपन्यास लेखेको स्मरण गर्दै डङ्‍की उपन्यास त्योभन्दा पनि आधिकारिक भएको बताए । ‘मैले केही पात्रहरुसँग मात्र कुराकानी गरेर तल्लो बाटो लेखेको थिएँ। डा गिरीले सम्बन्धित ठाउँहरुको समेत भ्रमण गरेर लेखेका कारण यो किताब बढी आधिकारिक छ,’ उनले भने।

लेखकरपत्रकार वसन्त बस्नेतले तथ्यलाई सरल र मिठासपूर्ण शैलीमा प्रस्तुत गरेको भन्दै लेखक गिरीको प्रशंसा गरे । ‘डङ्‍की रुट भएर अमेरिका हिँडेका नेपाली युवाको समाचार हामीले धेरै लेखेका छौं । गिरीले यसलाई औपन्यासिक शैलीमा प्रस्तुत गर्नुभएको छ। कताकता यो यात्रा विवरण जस्तो पनि लाग्छ तर उपन्यासको लय छाडेको छैन,’ उनले भने ।

लेखिका बिना थिङले आप्रवासन जस्तो गम्भीर विषयमा उपन्यास लेख्नु सजिलो काम नभएको बताइन्। राज्यको ध्यान जानुपर्ने विषयमा गिरीले कलम चलाएको भन्दै उनले यो विषयमा गहन बहसको आवश्यकता औंल्याइन् ।

उपन्यासका लेखक डा. चन्द्र गिरीले कोलम्बियाको नेकोक्ली शहरमा पुग्दा डङ्‌की रुटबाट अमेरिका हिँडेका केही नेपाली युवा भेटेपछि उपन्यास लेख्ने आइडिया आएको सुनाए । लेखनकका क्रममा आफूले तथ्य-तथ्यांकलाई उच्च महत्व दिएको उनले बताए । डङ्‍की केवल सीमा पार गर्ने यात्राको कथामात्र नभएर यो मानिसको आशा, साहस, निराशा र आत्मसम्मानको कथा भएको उनको भनाइ थियो। ‘संसार भेटिएका नेपाली तथा अन्य आप्रवासीहरुको अनुभवले यो उपन्यास लेख्न प्रेरणा दियो,’ उनले भने।

इलामको एक युवकले अमेरिका जान रोजेको डङ्‍की रूट र उसले गरेको यात्रालाई किताबमा प्रस्तुत गरिएको छ।

उपन्यास बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो । डा. गिरीका यसअघि मैले नदेखेको सपना (आत्मकथा) र संसारको सेरोफेरो (यात्रा संस्मरण) प्रकाशित भइसकेका छन् ।