• Menu
s

आरोग्य र धार्मिक पर्यटनको पर्खाइमा म्याग्दीको भंकासे, पूर्वाधार निर्माण तीव्र

नेपाल प्रफिट

२०८३ असार १५, १२:२०

आरोग्य र धार्मिक पर्यटनको पर्खाइमा म्याग्दीको भंकासे, पूर्वाधार निर्माण तीव्र

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो पाखामा घना जंगल । बस्तीदेखि टाढा र एकान्त र शान्त वातावरण। पृष्ठभूमिमा देखिने अग्ला पहाड र हिमशृङ्खलाहरु । चराचुरुङ्गीहरुको चिरचिर आवाज । यो ठाउँ हो म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको भंकासे ।

यो ठाउँ परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको धार्मिक र पर्यटकीय ठाउँ हो । प्राकृतिक हिसाबले सुन्दर, मनमोहक र धार्मिकरुपमा महत्वपूर्ण मानिएको भंकासे पूर्वाधार, प्रचारप्रसार र पर्यटकको पर्खाइमा छ ।

पात्लेखेतको वाखेत टोलको शिरमा समुद्री सतहदेखि करिब दुई हजार ६०० मिटर उचाइमा अवस्थित भंकासेको प्रचारप्रसार आवश्यक रहेको स्थानीय लोकबहादुर पुनको भनाइ छ । ‘पहाडको शिरमा रहेको उक्त स्थानमा जमिन भासिएर प्वाल परेको हुँदा भ्वाङ खसेको भन्दा भन्दै अप्रभंश भएर भंकासे नाम रहने गएको जनविश्वास छ,’ उनले भने ।

भंकासेमा पहाड भासिएर ओडार बनेको भ्वाङ छ । भ्वाङको नजिकै करिब १० रोपनी समथर खाली जमिन छ । भंकासेको पृष्ठभूमिमा धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला देखिन्छ । म्याग्दीका साविकका ४१ मध्ये ३५ वटा गाविसको भूगोल यहाँबाट अवलोकन गर्न सकिने स्थानीयवासीहरुको भनाइ छ ।

भंकासेदेखि करिब २०० मिटर तल सिद्धको थान रहेको छ । उक्त थानमा तपस्या गरेका ऋषिहरुले देहत्याग गरेको ठाउँमा मन्दिर र धर्मशाला बनाइएको छ । हालपनि त्यहाँ देशका विभिन्न ठाउँबाट ऋषिमुनिहरु ध्यान तपस्याका लागि आउने गरेका छन् । सिन्धुपाल्चोकबाट आएर १२ वर्षदेखि भंकासेमा तपस्या बसेका तपस्वी रुपचन्द्रले सपनामा देखेको आधारमा विश्वशान्ति र विकृतिमुक्त समाजको कामनाका लागि तपस्या गर्न आएको प्रतिक्रिया दिए ।

भंकासे र सिद्धथानमा आश्रमहरु छन् । वाखेतदेखि ३० मिनेटको पैदलयात्रापछि पुगिने सिद्धथानबाट थप १५ मिनेट उकालो हिडेर भंकासे पुगिन्छ । रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल टोड्केदेखि ४० मिनेटको पैदलयात्रापछि भंकासेमा पुगिन्छ ।

बेनी नगरपालिकाले सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनको अवधारणाअनुसार धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गराउन ‘एक वडा, एक पर्यटन परियोजना’मा समेटेको वडाध्यक्ष मसविर रोकाले बताए ।

वाखेतदेखि सिद्धथान हुँदै भंकासे जोड्ने पदमार्ग, सिद्धथान जोड्ने सडक निर्माण गरिएको जानकारी दिँदै ऐतिहासिक तथ्यहरु जुटाउनका लागि धर्मगुरुमार्फत खोज अनुसन्धान थालिएको उनले जानकारी दिए ।