
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्ने बताएका छन् ।
राष्ट्रिय धान दिवसको उपलक्ष्यमा सोमबार दिएको शुभकामना सन्देशमा उनले नेपालीको मौलिक पर्वका रूपमा स्थापित यस दिवसमा धान रोपाइँ, असारे भाका, दही-चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गरेका छन् ।
सन्देशमा मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘पछिल्लो समय युवा जनशक्ति वैदेशिक पलायन र बसाइँसराइले खेती योग्य जमिन बाँझो हुँदा कृषि उत्पादनमा गम्भीर असर परेको छ ।’
आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने धारणा राख्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले कृषि उत्पादन, बजारीकरण, कृषिमा नवप्रवर्तन, व्यावसायिक खेती, उत्पादनमुखी योजना, प्राविधिक सहयोग तथा कृषकमैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal