
एजेन्सी । अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिएका छन् ।
जुन १७ मा भएको संवेदनशील समझदारीपत्र को बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए ।
फेब्रुअरीको अन्त्यतिर सुरु भएको यो द्वन्द्वले महत्वपूर्ण हर्मुज जलडमरुमा ढुवानीलाई प्रभावित गरेको थियो ।
त्यस समझदारीअनुसार तेहरानले व्यावसायिक जहाजहरूलाई जलडमरुबाट सुरक्षित आवतजावत गर्न दिने प्रतिबद्धता जनाएको थियो भने वाशिङटनले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति गरेको थियो ।
‘समझदारीका सबै क्षेत्रमा प्राविधिक वार्ता जारी रहनेछ,’ एक अमेरिकी अधिकारीले एएफपीलाई इमेलमार्फत जानकारी गराएका छन्, ‘दुवै पक्षले अहिलेका लागि हमला रोकेका छन् र जहाजहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन् ।’
अधिकारीले वार्ता कहिले र कहाँ हुने भन्ने विवरण दिएनन् । तर दुई अमेरिकी अधिकारी र एक जानकार स्रोतले अमेरिकी सञ्चारमाध्यम एक्सिओसलाई बताएअनुसार वार्ता मंगलबार कतारमा पुनः सुरु हुनेछ ।
सीएनएनले पनि ट्रम्प प्रशासनका एक अधिकारीलाई उद्धृत गर्दै यस्तै कुरा रिपोर्ट गरेको छ । दुवै पक्षले ‘अहिलेका लागि हमला रोक्ने’ र मंगलबार दोहामा थप वार्ता गर्ने सहमति गरेको उल्लेख छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमला जारी रहेमा सैन्य कारबाही गर्ने पुरानो चेतावनीलाई पुनः दोहोर्याएका छन् । शनिबार उनले अमेरिका ‘बाध्य’ भएर युद्ध पुनः सुरु गर्नुपरेमा इरान अब ‘अस्तित्वमा रहने छैन’ भनेका थिए ।
पाकिस्तानले मध्यस्थता गरेको र युद्ध अन्त्य गर्ने समझदारीमा हस्ताक्षर भएपछि अमेरिका र इरानले एकअर्कालाई युद्धविराम सहमतिलाई उल्लंघन गरेको आरोप लगाउँदै बदलामा आक्रमण गरेका थिए ।
आइतबार बिहान भएको पछिल्लो झडपमा अमेरिकी सेनाले ‘व्यावसायिक जहाजमाथि इरानी आक्रमण जारी रहेको’ भन्दै १० इरानी सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको थियो भने इरानले पनि कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य शिविरमाथि आक्रमण गरेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal