
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि शंकास्पद अवस्थामा पार्किङ गरिएको एउटा सवारीसाधन फेला परेको छ ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको उक्त गाडी सोमबार बिहान करिब ७ बजेदेखि निवासको प्रवेशद्वार नजिकै राखिएको थियो, जसका कारण मोटरसाइकलसमेत आउजाउ गर्न कठिन भएको थियो । गाडी छाडेर चालक प्रहरीकै सवारीमा चढेर त्यहाँबाट गएको स्थानीयको दाबी छ। यद्यपि प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
यसअघि सोमबार बिहान नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएका थिए ।
ती सबै सवारीसाधन प्रहरीले क्रेनको सहायता लिएर हटाएको थियो। घटनाहरूको उद्देश्य र संलग्न व्यक्तिबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal