• Menu
s

यस्तो प्रकारको गम्भीर ठगीले सुनचाँदी व्यवसायी सडकमा पुग्छन् : अर्जुन रसाइली

नेपाल प्रफिट

२०८२ चैत २०, शुक्रबार ११:३९

यस्तो प्रकारको गम्भीर ठगीले सुनचाँदी व्यवसायी सडकमा पुग्छन् : अर्जुन रसाइली

काठमाडौं । सुनचाँदी व्यवसायीमाथि व्यापक ठगीका घटना बढिरहेको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघका अध्यक्ष अर्जुन रसाइलीले चेकको कारोबारमार्फत ठगी भइरहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।

हालै मात्र १ हजार रुपैयाँ पनि खातामा नभएको बैंकको लाखौं करोडौं रुपैयाँका चेक काटेर श्री भिन्तुना ज्वेलर्सलाई ५३ लाख पैसा नतिरेर झुलाइरहेको विषयमा उनले आपत्ति जनाए । सुर्खेत स्थायी घर भएकी टिका खड्काले फागुन १७ गते २३ लाख २१ हजार ११३ रुपैयाँ र फागुन १९ गते २९ लाख ७२ हजार ८२ रुपैयाँको सुन किनेकी थिइन् ।

उनले १७ गते ९५ लाख रुपैयाँको चेक दिइन् भने १९ गते ४ करोड जम्मा गरेको भौचर दिइन् । तर, चेक दिइएका ग्लोबल आईएमई बैंकको खातामा एक हजारभन्दा कम ब्यालेन्स रहेको पाइएपछि व्यवसायी संघरत्न बज्राचार्यले ठगी भएको चाल पाएका थिए ।

‘हाम्रो छिमेकी भाइको लामो समयदेखिको चिनजानको दिदी भनेर हामीलाई झुक्याइन्,’ उनले भने, ‘१० लाख डलरको सुन अमेरिका लैजाने भनेर २३ लाख हाराहारीको सुन किनेर ९५ लाखको चेक दिएपछि हामी झुक्कियौं ।’

सबै काम ठगी गर्ने नियतका साथ भएको उनले बताए । संघरत्नका अनुसार अहिलेसम्म जति पनि चेक र खातामा पैसा जम्मा गरेका भौचरहरु पठाइएका छन्, ती सबै फेक हुन् । ‘साह्रै ठुलो तनाव भइरहेको छ,’ उनले भने ।