• Menu

६० जनाले एकैसाथ काम गर्न सक्ने क्षमता, स्टार्टअप र फ्रिलान्सरलाई लक्षित गर्दै वुल्फ अफिसेजको नयाँ कार्यस्थल

नेपाल प्रफिट

२०८३ साउन ३, १२:३०

६० जनाले एकैसाथ काम गर्न सक्ने क्षमता, स्टार्टअप र फ्रिलान्सरलाई लक्षित गर्दै वुल्फ अफिसेजको नयाँ कार्यस्थल

काठमाडौं । वुल्फ अफिसेजले काठमाडौंको मण्डिखाटारमा नयाँ साझा कार्यस्थल सञ्चालनमा ल्याएको छ। यसअघि बानेश्वरबाट सेवा दिँदै आएको कम्पनीले स्टार्टअप, स्वतन्त्र रूपमा काम गर्ने पेशाकर्मी, दूरस्थ रूपमा काम गर्ने कर्मचारी तथा लचिलो कार्यस्थल खोजिरहेका व्यवसायलाई लक्षित गर्दै सेवा विस्तार गरेको हो।

कम्पनीका अनुसार नयाँ कार्यस्थलमा आठभन्दा बढी स्टार्टअपलाई स्थान उपलब्ध गराउन सकिने व्यवस्था छ भने एकै समयमा ६० जनासम्मले काम गर्न सक्ने क्षमता रहेको छ। आधुनिक पूर्वाधारसहितको यस कार्यस्थलले उद्यमी, साना तथा मझौला व्यवसाय र विभिन्न टोलीबीच सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साझा कार्यस्थलसँगै कम्पनीले भौतिक कार्यालयबिनै व्यवसाय सञ्चालन गर्न चाहनेका लागि भर्चुअल कार्यालय सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ। यसअन्तर्गत व्यवसाय दर्ताका लागि आधिकारिक ठेगाना, पत्राचार, पार्सल तथा आवश्यक कागजात व्यवस्थापनको सुविधा प्रदान गरिनेछ ।

सदस्यलाई थप सुविधा उपलब्ध गराउन कम्पनीले विभिन्न संस्थासँग सहकार्य गरेको छ। यसबाट सदस्यहरूले विशेष छुटसहित अन्य सेवाको लाभ लिन सक्ने कम्पनीको भनाइ छ ।

भविष्यमा क्याफे, होटल तथा अन्य कार्यस्थल प्रदायकका उपलब्ध स्थान एकै ठाउँमा सूचीकरण गर्न सकिने डिजिटल मञ्च विकास गर्ने योजना पनि कम्पनीले अघि बढाएको जनाएको छ । कम्पनीले लचिलो कार्यस्थल, भर्चुअल कार्यालय सेवा र व्यावसायिक सञ्जाल विस्तारमार्फत नेपालका स्टार्टअप, उद्यमी तथा पेशाकर्मीका लागि सहज र व्यावसायिक कार्य वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ ।