काठमाडौं । २०८२ फागुन १७ गते आइतबार दिउँसो १ बजे ।
काठमाडौंको भोटाहिटीमा रहेको सुन पसलमा संघरत्न बज्राचार्य, उनकी श्रीमती सानुशोभा र छोरो सुप्रिम ग्राहक पर्खिरहेका हुन्छन् । सेतो क्रिमी कलरको ज्याकेट, कालो पछ्यौरा र कालो चस्मा पहिरिएकी अधबैंसे महिला प्रवेश गर्छिन् ।
‘दाइ नमस्कार ! भाउजू नमस्कार ! बाबु सञ्चै छौ ?’ महिलाले असाध्यै परिचित व्यवहार देखाउँछिन् । संघरत्न अन्योलमा परेर श्रीमतीतिर हेर्छिन् । सानुशोभा पनि निधार खुम्च्याइरहेकी हुन्छिन् ।
‘म हजुरको छिमेकी अनिल (नाम परिवर्तन) की दिदी सविता । साह्रै राम्रो सम्बन्ध छ हाम्रो । धेरै पुरानो पनि, कुर्सी तानेर बस्दै उनी भन्छिन्, ‘गहना हेरौं न ! म त सधैं किन्ने गरेको पसलमा जान लागेकी थिएँ । अनिलले ‘संघरत्न दाइको पसलमा जानुस्, गुणस्तरीय सुन पाइन्छ, ठगी हुँदैन’ भनेपछि आएको । ल राम्रो-राम्रो डिजाइनका गहना देखाउनुस् त !’
त्यस दिनका लागि सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँका दरले किनबेच भइरहेको हुन्छ । ती महिलाले सिक्री माला, ब्रेसलेट र असर्फी औँठी छान्छिन् । शंघरत्न १० लाख ३३ हजार ९ रुपैयाँको बिल बनाउँछन् ।
उनले ‘अरु सामान पनि देखाउनुस् न’ भन्छिन् । सुनको चोकर, चन्द्रमा र औंठी किन्छिन् । संघरत्न ११ लाख ७९ हजार ६५३ रुपैयाँको बिल काट्छन् ।
उनले फेरि तिलहरी अर्डर गर्छिन् । संघरत्न १ लाख ८ हजार ४५१ रुपैयाँको अर्को बिल तयार पार्छन् ।
सविता खड्काको नाममा बनाइन्छन् तीनवटै बिल । ठेगाना हुन्छ- अमेरिका ।
उनको खास परिचय भने यस्तो छ-
नाम टिका खड्का । उमेर ४७ वर्ष । स्थायी घर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, सुर्खेत । राजनीतिक आबद्धता पहिला नेपाली कांग्रेस, २०६१ सालदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी ।
२०७४ सालको स्थानीय निर्वाचनमा सुर्खेत नगरपालिकाका लागि राप्रपाबाट उपप्रमुख पदको उम्मेदवार । पराजयपछि पार्टीसँग सम्पर्कविहीन । सुर्खेतमा प्रशस्त पुर्ख्यौली सम्पत्ति । बसोबास काठमाडौंको मध्य बानेश्वर ।
०००
सुन छान्दा र बिल बनाउँदासम्म ४ बज्न लागिसकेको हुन्छ । संघरत्नले तीनवटै बिलको रकम जोड्छन्- २३ लाख २१ हजार ११३ रुपैयाँ ।
खड्का मुसुक्क हाँस्छिन् र ग्लोबल आईएमई बैंकको ९५ लाख रुपैयाँको चेक काट्छिन् ।
संघरत्न छक्क पर्दै भन्छन्, ‘२३ लाख २१ हजार दिनुस् न, यति ठुलो चेक किन ?’ श्रीमती सानुशोभाले पनि बिलअनुसारकै पैसा दिनु भन्छिन् ।
तर, ह्यान्ड ब्यागमा सामान राखिसकेकी खड्काले करिब १० लाख डलर अर्थात् १४ करोडको गहना अमेरिका लैजाने बताउँछिन् । परिवारका सबै सदस्य अलमल्ल पर्छन् ।
उनीहरुको अनुहारमा आशंका दौडिएको देखेर खड्का भन्छिन्, ‘दाइ-भाउजूले कुनै चिन्ता लिनु पर्दैन । मेरोमा चुलेनिम्तो छ यहाँको परिवारलाई । अब त भयो नि ! बाबुले अहिल्यै लगेर त्यो चेक डिपोजिट गरिहाल ! फेरि ढिला होला ।’
सुनको मूल्य बढेर व्यवसाय सुस्ताएका बेला यति ठुलो ग्राहक पाउँदा उनीहरु एक प्रकारले उत्साहित पनि हुन्छन् । तर, ढुक्क भने हुँदैनन् । सुप्रिम, नजिकै रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंक जान्छन् र चेक जम्मा गर्छन् ।
भोलिपल्ट फागुन १८ गते सोमबार होली पूर्णिमा अर्थात् सार्वजनिक बिदा हुन्छ । २३ लाखको सामानका लागि ९५ लाखको चेक बैंकमा जम्मा गरेको बज्राचार्यको परिवार अरु करोडौंको सुनका गहना किन्ने वचन र छिमेकी अनिलको समेत हवालाका कारण खासै चिन्तामा रहँदैन । होलीको दिन रंगहरुसँग खेलेर बित्छ ।
फागुन १९ गते बिहान साढे ११ बजेतिर नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खातामा ४ करोडको चेक जम्मा गरेको भौचरको फोटो सुप्रिमको ह्वाट्स एपमा आउँछ । त्यसपछि सुप्रिम छिमेकी अनिलसँग बुझ्न खोज्छन् । तर, बिरामी भएर अस्पताल गएको जानकारी पाएपछि उनी त्यत्तिकै फर्किन्छन् ।

दिउँसो १ बजेतिर खड्का टुप्लुक्क पसलमै पुग्छिन् । एकछिन दाजुभाउजूको सम्बन्धमा डुबाएपछि बेरुवा औंठी देखाउन भन्छिन् । संघरत्नले दुईवटा औंठीको १५ लाख ७३ हजार २० रुपैयाँको बिल बनाउँछन् । फेरि अर्को दुईवटा थप्छिन्, १३ लाख ९९ हजार ६२ रुपैयाँको बिल तयार हुन्छ ।
त्यसदिन उनले २९ लाख ७२ हजार ८२ रुपैयाँका चारवटा बेरुवा औंठी किन्छिन् । सुनको भाउ अझै बढेर प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ निर्धारण भएको हुन्छ ।
संघरत्नले हिसाब कुल निकाल्छन्- ५२ लाख ९३ हजार १९५ रुपैयाँ ।
हिसाब सुनिसकेपछि खड्काले चार करोड रुपैयाँ जम्मा गरेको भौचरको सक्कल प्रति संघरत्नको हातमा राखिदिन्छिन् । यसपटक उनीहरु झन् अचम्ममा पर्छन् ।
‘१४ करोडको गहना अमेरिका लैजाने हो के दाइ ! त्यही भएर ४ करोड जम्मा गरिदिएको । ढुक्क हुनुस् न !’ उनी विश्वास दिलाउन खोज्छिन् ।
संघरत्न, सानुशोभा र सुप्रिमले ‘बिल बराबरको पैसा मात्र दिन’ भन्छन् तर उनी त्यही भौचर थमाएर ‘फेरि आउँछु’ भन्दै निस्किन्छन् ।
सुप्रिमलाई शंका लाग्छ । उनी हतार-हतार आइतबार चेक डिपोजिट गरेको बैंकको शाखामा पुग्छन् । तर, खातामा ब्यालेन्स नपुगेर चेक डिपोजिट हुन नसकेको जानकारी पाउँछन् । त्यस बेलासम्म निक्कै ढिला भइसकेको हुन्छ ।
बज्राचार्य परिवार ठुलो तनावमा पर्छ ।
उनीहरुले पैसाका लागि लगातार फलो गर्छन् । तारन्तार फोन गरेपछि भोलिपल्ट फागुन २० गते काठमाडौंको ठमेलमा बोलाउँछिन् र २१ गतेको मिति राखेर दुईवटा चेक सुप्रिमलाई थमाउँछिन्- एउटा १ करोड र अर्को ५२ लाख रुपैयाँको । तर, त्यो पनि सटही हुँदैन ।
लगातारको फलोअपपछि खड्काले फागुन २४ गते श्री भिन्तुना ज्वेलर्सको नाममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा रहेको खातामा ५३ लाख रुपैयाँ जम्मा गरेको भौचरको फोटो पठाउँछिन् । त्यो पनि डिपोजिट भएको हुँदैन । सुप्रिमले फलो गरिरहन्छन् ।
त्यसपछि २५ गते खड्काले फागुन २७ को मिति राखेर जय भीमसेन बचत तथा ऋण सहकारी संस्थाको ५३ लाख रुपैयाँको चेक दिन्छिन् । चेकमा अर्कैको हस्ताक्षर हुन्छ । जय भीमसेनमा बुझ्दा चेक १०-१२ वर्ष पुरानो भएको थाहा पाउँछन् ।
सुप्रिमले २७ गते फलो गर्दा खड्काले स्वास्थ्यमा समस्या आएर नयाँ बानेश्वरको एभरेस्ट अस्पताल र पछि थापाथलीको नर्भिक अस्पतालमा उपचार गराइरहेको बिरामी पुर्जा र स्वास्थ्य रिपोर्टहरुको फोटो खिचेर पठाउँछिन् । पटक-पटकको छलीपछि बज्राचार्य परिवार ठुलो तनावमा पर्छ ।
पैसा उठाउने क्रममा बुझ्दै जाँदा न्युरोडको नटराज ज्वेलर्स, न्युरोडकै क्लासिक डायमन्ड, मध्य बानेश्वरको श्री अल स्टार ज्वेलरी लगायतबाट पनि लाखौं रुपैयाँको गहना यसैगरी उठाएको जानकारी उनीहरुले पाउँछन् । ठगिएको निश्चित हुँदै गर्दा बज्राचार्य परिवारमा पीडा थपिँदै जान्छ ।
हाल चेक वितरण गरेको ग्लोबल आइएमई बैंकको खाता पनि खड्काले २०८२ माघमा मात्र खोलेको पत्ता लाग्छ । लाखौं, करोडौं रुपैयाँका चेक काटिएको खातामा १ हजार रुपैयाँभन्दा कम ब्यालेन्स रहेको बैंक स्रोतबाट खुलेको छ ।
उनीहरुले यसबारे जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा जाहेरी दिएका छन् । चेक बाउन्सको जाहेरीमा ४५ दिन कुर्न प्रहरीले आग्रह गरेको छ । त्यसअघि कुनै प्रकारको कारबाही प्रक्रिया अघि नबढाउन नमिल्ने जानकारी प्रहरीले बज्राचार्य परिवारलाई दिएको छ ।
सुन खरिद गरेकी खड्काले भने परिबन्धमा परेर केही दिन पैसा दिन ढलाइ भएको जिकिर गरिन् । ‘अमेरिका बस्ने आफन्तले किनेर पठाइदिनु भनेको भएर किनिदिएँ, तर उहाँहरुले पैसा पठाउनुभएन, परिबन्धमा परेर केही दिन ढिला भएको हो, सुर्खेतको जग्गा बैंकमा राखेर भए पनि तिरिहाल्छु,’ उनले भनिन् ।
उनले आफ्नो खातामा अहिले पनि ३० हजार पैसा भएको बताइन् । खातामा ३० हजार रुपैयाँमात्र हुँदा लाखौं लाख रकमका चेक किन काट्नुभयो भन्ने प्रश्नमा उनले भनिन्, ‘म नराम्रो नियतको मान्छे होइन के ! तपाईंले अरुसँग पनि बुझ्नुस् न !’
सरकारले माघ १ देखि एकपटकमा ५ लाख वा त्यो भन्दा माथिको सेवा, वस्तुको खरिद-बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा तोकेको छ । औपचारिक प्रणालीलाई बढावा दिन र पारदर्शिता बढाउनका लागि सरकारले नगद कारोबारको सीमा घटाएको हो । तर, नगद प्रवाह छिटोछिटो हुनुपर्ने सुनचाँदी व्यवसायीका लागि सरकारको यो कदमले समस्या निम्त्याएको छ ।
एकातिर चेक राफसाफमा समय लाग्ने र अर्कातिर चेकमार्फत हुने ठगीले व्यवसायी आत्तिएका छन् । चेक बाउन्सको निरुपण व्यवसायीको दिनचर्या बन्न थालेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal