काठमाडौं । श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्ने तथा सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थापित सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या ३३ लाख नाघेको छ । मंसिर ११ सम्ममा कोषमा ३३ लाख ४ हजार ८६ योगदानकर्ता कोषमा आबद्ध भएका हुन् ।
औपचारिक योगदानकर्ताको संख्या ८ लाख ४३६ छ भने वैदेशिक रोजगारीमा गएका २५ लाख ८५२ कोषमा आबद्ध भएका छन् । अनौपचारिक र स्वरोजगारको संख्या क्रमश: १ हजार २१० र १ हजार ५८८ छ । कोषमा हालसम्म २४ हजार ६ रोजगारदाता आबद्ध भइसकेका छन् ।
मंसिर ११ सम्ममा कोषमा १ खर्ब ३३ अर्ब योगदान रकम संकलन भइसकेको छ भने २३ अर्ब २६ करोड दाबी भुक्तानी भएको कोषले जनाएको छ ।
कोषले औषधि उपचार स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धवस्था सुरक्षा योजनामार्फत योगदानकर्तालाई विभिन्न सुविधा प्रदान गर्दै आएको छ ।
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्ने जस्ता कार्यहरू गर्दै आएको छ ।
सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुक्रबार कोषले औपचारिक कार्यक्रम आयोजना गरेको छ ।