काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०२६ सुरु गरेको छ ।
काठमाडौंको बसन्तपुरमा बुधबार सार्वजनिक कला स्थापनाको अनावरण गर्दै अभियानको शुभारम्भ गरिएको हो । अभियानको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी थिइन् । कार्यक्रममा जोन्टा क्लब काठमाडौंका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको उपस्थिति थियो ।
तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको कला स्थापनाले महिला तथा किशोरीहरूले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चुपचाप सहन बाध्य भएका भावनात्मक तथा सामाजिक पीडालाई उजागर गरेको छ ।
‘उनका धेरै झोला छन्, सबैले देख्छन् । तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित कलाले महिला तथा किशोरीहरूले भोग्ने डर, दमन, दोषारोपण र चार भित्ताभित्र सीमित पीडाका कथालाई प्रस्तुत गरेको छ ।
यसले हिंसाविरुद्धको मौनता तोड्न, आफ्ना अनुभव खुलेर व्यक्त गर्न र महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि सामूहिक रूपमा अघि बढ्न समाजलाई प्रेरित गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । उनले महानगरपालिकाले जोन्टा क्लबसँगको सहकार्यमा महिला हिंसाविरुद्ध जनचेतना जगाउने र अभियानलाई निरन्तरता दिने योजना बनाएको बताइन् ।
महिला भएकाले समाजमा दिदीबहिनी तथा आमाहरूले भोगिरहेको हिंसा, अपहेलना र लैङ्गिक विभेदबारे आफू जानकार रहेको उल्लेख गर्दै उनले हिंसा र विभेद अन्त्य गर्नु सबैको साझा जिम्मेवारी भएको बताइन् ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष मृदुला राजभण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनासँगै समाजका सबै तहबाट सामूहिक र निरन्तर प्रयास आवश्यक रहेको बताइन् । यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्रलाई जोड्दै संवादलाई व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।
त्यस्तै, क्लबको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दीप्ती आचार्यले कला आफ्ना पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम भएको बताइन् । कला स्थापनाले लैङ्गिक हिंसाको अदृश्य पीडालाई सार्वजनिक संवादमा ल्याउँदै यो कुनै एक महिलाले मात्र बोक्नुपर्ने बोझ नभएको सन्देश दिएको उनले उल्लेख गरिन् ।
बसन्तपुरमा स्थापना गरिएको सार्वजनिक कला अभियान अवधिभर सर्वसाधारणका लागि खुला रहनेछ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ पहलअन्तर्गत आयोजना गरिएको हो ।
अभियानका क्रममा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ । कार्यक्रमअन्तर्गत युवाको फ्ल्यास मोब, महिनावारी स्वास्थ्य तथा बालविवाहसम्बन्धी सामुदायिक संवाद र निजी क्षेत्रका श्रमिकका लागि कार्यशाला आयोजना गरिनेछ ।
यसका साथै काठमाडौं र दाङमा सामुदायिक दौडसमेत सञ्चालन गरिनेछ । अभियानका सबै गतिविधि डिसेम्बर १० मा आयोजना हुने समापन सम्मेलनसँगै सम्पन्न हुनेछन् ।
जोन्टा क्लब काठमाडौं महिला तथा किशोरीको अवस्था सुधार र अधिकार प्रवर्धनका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था जोन्टा इन्टरनेसनलको सदस्य क्लब हो । क्लबले लैङ्गिक हिंसा न्यूनीकरण, लैङ्गिक समानता प्रवर्धन तथा महिला र किशोरीको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।