• Menu

पर्यटन गन्तव्य बन्दै कास्कीको मैँचे डाँडा

नेपाल प्रफिट

२०८३ मंसिर ८, मंगलबार ११:२५

पर्यटन गन्तव्य बन्दै कास्कीको मैँचे डाँडा

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा आएसँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेश सरकारको १० लाख र स्थानीय जनश्रमदान एक लाख गरी कूल ११ लाखको लागतमा माछापुच्छ्रे सहिद पार्क निर्माण सम्पन्न भएको वडाध्यक्ष नारायण पौडेलले जानकारी दिए । पार्कमा सहिद स्तम्भ, प्रतीक्षालय र प्रवेशद्वार निर्माण गरिएको छ ।

सहिद स्तम्भमा माओवादी सशस्त्र संघर्षका क्रममा कास्कीबाट सहिद बनेकाहरु, राणाशासन विरोधी आन्दोलन, प्रजातान्त्रिक तथा वाम आन्दोलन, झापा आन्दोलन र जनआन्दोलनलगायत विभिन्न परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्नेको विवरण समेटिएको छ । पार्कको वरिपरि आगन्तुकका लागि विश्रामस्थल निर्माण गरिएको छ ।

समुद्री सतहबाट एक हजार ६८० मिटरको उचाइमा रहेको मैँचे डाँडा प्राकृतिक दृश्यावलोकनका दृष्टिले आकर्षक स्थान हो । यहाँबाट पोखरा बजार, आसपासका डाँडाकाँडा तथा हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ ।

वडाध्यक्ष पौडेलले पार्क निर्माणपछि मैँचे डाँडामा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा गरिएको बताए ।  ‘मैँचे डाँडा आफैँमा प्राकृतिक सुन्दरताले भरिएको स्थान हो । यहाँबाट पोखरा बजारसहित वरपरका डाँडाकाँडा र हिमालको राम्रो दृश्य देखिन्छ । पार्क निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ पौडेलले भने ।

मैँचे डाँडा विगतमा खुमई र कोर्चोङसम्मको पदयात्राका लागि प्रयोग हुने मार्गमा पर्दथ्यो । यहाँबाट ओदाने हुँदै खुमई जाने-आउने गरिए पनि पछिल्लो समय सरिपाखा र टुसे हुँदै खुमई पुग्ने पदमार्ग बढी प्रचलनमा आएपछि मैँचे डाँडाको पदयात्रा गतिविधि घटेको स्थानीय बताउँछन् ।

स्थानीय देवीलाल लामिछानेका अनुसार विगतमा मैँचे डाँडा चरन क्षेत्रका रूपमा परिचित थियो । यहाँ भैँसीका गोठ रहने गरेका थिए । मैँचे डाँडामा हालै प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ । पोखरास्थित एरोडाइनामिक प्याराग्लाइडिङ कम्पनीले दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण केन्द्र सञ्चालन गरेपछि यस क्षेत्रमा थप पर्यटकीय गतिविधि सुरु भएका छन् ।

सहिद पार्क, प्राकृतिक दृश्यावलोकन, पुरानो पदमार्ग र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रलाई जोडेर पर्यटन गतिविधि विस्तार गर्न सके मैँचे डाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने स्थानीयको अपेक्षा छ । पोखरा-बागलुङ राजमार्गअन्तर्गत हेमजाको मिलनचोक हुँदै लाहाचोकको पातीखोलाबाट मैँचे डाँडा पुग्न सकिन्छ । रासस