काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले बुधबार शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त भएकामा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए ।
जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्र रूपमा गृहकार्य भइरहेको बताए ।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र द्विपक्षीय हितका विषयमा छलफल गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।