• Menu

बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सातबुँदे प्रतिबद्धता

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार १४:५२

बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सातबुँदे प्रतिबद्धता

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन् ।

फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बादीले तीनवटा अद्यावधिक, तीनवटा नयाँ र एउटा पुनः पुष्टि गरिएको प्रतिबद्धता सार्वजनिक गरेकी हुन् ।

सम्मेलनमा उनले बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न नेपालले कानुनी, नीतिगत तथा संस्थागत सुधारका प्रयासलाई निरन्तरता दिँदै आएको जानकारी दिइन् ।

मन्त्री बादीले सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारलगायत बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न कानुनी तथा नीतिगत व्यवस्थासहित राष्ट्रिय मापदण्ड सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी, सन् २०३० सम्म देशका सबै ७५३ स्थानीय तहमा बाल संरक्षण संयन्त्र स्थापना गरी जोखिममा रहेका प्रत्येक बालबालिकालाई सहज र एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य प्रस्तुत गरिन् ।

बाल संरक्षणसम्बन्धी नीति तथा कार्यक्रमलाई तथ्यमा आधारित बनाउन विभिन्न समूहअनुसार खण्डीकृत तथ्यांक समेट्ने एकीकृत बाल संरक्षण सूचना प्रणाली सुदृढ गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् । यसका साथै प्रभावकारी स्रोत विनियोजन र जवाफदेहिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

मन्त्री बादीले बालबालिकाविरुद्ध हुने हिंसाको रोकथाम तथा सम्बोधनका लागि सरकारका तीनै तह र सम्बन्धित क्षेत्रबीच समन्वय सुदृढ गर्ने बताइन् । बाल हेरचाह प्रणालीमा सुधार गर्दै परिवारमा आधारित हेरचाहलाई प्राथमिकता दिने र जोखिममा रहेका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने नेपालको प्रतिबद्धता रहेको उनको भनाइ थियो ।

यसैगरी, बालविवाह रोकथामका लागि बहुक्षेत्रीय प्रयास तीव्र बनाउने तथा बालविवाहबाट प्रभावित व्यक्तिलाई समग्र सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि प्रस्तुत गरिएको छ ।

सम्मेलनमा मन्त्री बादीले सन् २०३० सम्म प्रत्येक विद्यालयमा बाल संरक्षणसम्बन्धी मापदण्ड तथा बालमैत्री उजुरी र सूचना दिने संयन्त्र लागू गर्ने लक्ष्य सुनाइन् । विद्यालयभित्र तथा विद्यालय वरपर हुने हिंसा कम्तीमा ५० प्रतिशतले घटाउने लक्ष्यका साथ नेपाल अघि बढिरहेको उनले बताइन्।

सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपालको सातबुँदे प्रतिबद्धताले बाल संरक्षणलाई कानुनी सुधारमा मात्र सीमित नराखी स्थानीय तहको सेवा प्रवाह, परिवारमा आधारित हेरचाह, बालविवाह रोकथाम, विद्यालयको सुरक्षा, तथ्यांक व्यवस्थापन र अन्तरसरकारी समन्वयसँग जोडेको छ ।

नेपालले प्रस्तुत गरेका यी प्रतिबद्धताको कार्यान्वयनमार्फत बालबालिकाका लागि सुरक्षित वातावरण निर्माण तथा उनीहरूको अधिकार संरक्षणमा थप प्रगति हासिल गर्ने लक्ष्य राखिएको छ । रासस