काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंलाई चौबिसै घण्टा खुला राख्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अघि बढाएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै राजधानीलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबिसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि तयारी भइरहेको जानकारी दिएका हुन् ।
यसअघि राजधानीका प्रमुख पर्यटकीय तथा व्यापारिक क्षेत्र ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गरिएको थियो । २०८१ सालवैशाख १ गते तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा ती क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार काठमाडौं देशकै महत्त्वपूर्ण क्षेत्र भएकाले जिल्लाभरि भरपर्दो सुरक्षा व्यवस्था सुनिश्चित गर्दै सडक यातायात, स्वास्थ्य सेवा, विद्युत, इन्टरनेट, सिसीटिभी तथा सडक बत्ती लगायतका न्यूनतम पूर्वाधार व्यवस्थित गर्ने काम भइरहेको छ ।
त्यसैगरी यातायात, व्यापार, व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षाको भरपर्दो प्रबन्ध मिलाएर राजधानीलाई चौबिसै घण्टा खुला गर्ने अभियानलाई रणनीतिक रूपमा अघि बढाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
काठमाडौं जिल्लाभित्रका व्यापारिक, व्यावसायिक तथा बजार क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने विषयमा स्थानीय तह, सम्बन्धित सरकारी निकाय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय र छलफल गरिने जनाइएको छ ।
यस योजनाको कार्यान्वयनसँगै राजधानीको आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार गर्नुका साथै पर्यटन र रात्रिकालीन अर्थतन्त्रलाई समेत प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । रासस