• Menu

ट्रम्पसँगको त्रिपक्षीय शिखर सम्मेलनअघि सेन्जेनमा सी र पुटिनबीच उच्चस्तरीय वार्ता

नेपाल प्रफिट

२०८३ मंसिर २, बुधबार ११:४५

ट्रम्पसँगको त्रिपक्षीय शिखर सम्मेलनअघि सेन्जेनमा सी र पुटिनबीच उच्चस्तरीय वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय भेटवार्ता भएको छ ।

बिहीबार हुने भनिएको सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण तथा प्रमुख शक्तिबीचको सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, युक्रेन युद्धको विषयले सम्मेलनमा स्थान पाउने वा नपाउने भन्ने स्पष्ट भइसकेको छैन ।

एपेक बैठकलाई सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले बढ्दो सैन्य तथा राजनीतिक जोखिमका बीच विभाजनभन्दा एकता र अल्टिमेटमभन्दा संवाद आवश्यक रहेको बताए । उनले पश्चिमी राष्ट्रहरूले रुसमाथि लगाएका प्रतिबन्धले आफ्नो देशको आर्थिक विकासमा अवरोध पुर्‍याउन नसकेको दाबीसमेत गरे  ।

चिनियाँ राष्ट्रपति सीले भने कृत्रिम बौद्धिकता (एआई) र स्वतन्त्र व्यापारका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । रुसी अधिकारीहरूका अनुसार सी र पुटिनबीचको वार्तामा ऊर्जा, वित्तीय सहकार्य, युक्रेन र उत्तर कोरियासम्बन्धी विषय पनि समेटिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि चीनमा भेटवार्ता गर्ने इच्छा व्यक्त गरेका छन् । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उक्त भेटबारे पुष्टि गरेका छैनन् ।

यसअघि ट्रम्पले फिलिपिन्समा क्वाड समूहका सदस्य राष्ट्र अस्ट्रेलिया, जापान र भारतका नेताहरूसँग भेटवार्ता गरेका थिए  । यसैक्रममा आसियान सम्मेलनमा सहभागी करिब दुई हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

अमेरिकी व्यापार नीतिप्रति असन्तुष्टि जनाउँदै चिनियाँ प्रधानमन्त्री ली छ्याङ, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारिक निर्भरता घटाउनुपर्ने धारणा राखेका थिए  ।

उता, राष्ट्रपति ट्रम्पले आगामी १० महिनाभित्र दुर्लभ खनिज उत्पादनमा अमेरिकाले चीनलाई उछिन्ने दाबी गरेका छन्  । यसैबीच, वासिङ्टनले सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा उन्नत एआई चिप्स निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ नियम सार्वजनिक गरेको छ ।

नयाँ अमेरिकी नियमबारे प्रतिक्रिया दिँदै सिङ्गापुरले भने आफ्ना कम्पनीलाई विश्वसनीय रूपमा एआई चिप्स उपलब्ध गराउने उपाय खोजिरहेको जनाएको छ ।

सी-पुटिन भेटवार्ता, ट्रम्पको सम्भावित कूटनीतिक पहल र व्यापार तथा प्रविधिसम्बन्धी नीतिगत घोषणाले यस क्षेत्रको अन्तर्राष्ट्रिय सम्बन्ध र प्रमुख शक्तिबीचको सहकार्यलाई चर्चामा ल्याएको छ ।