एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय भेटवार्ता गर्दै छन् । आणविक हतियार नियन्त्रण तथा युक्रेन र इरानमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको यस भेटबाट ठोस उपलब्धि हासिल हुने सम्भावना भने कम रहेको विज्ञहरूले बताएका छन् ।
आफूलाई कुशल वार्ताकारका रूपमा प्रस्तुत गर्दै आउनुभएका ट्रम्पले चीन र रुसका नेतासँगको भेटलाई आणविक हतियार नियन्त्रणका नयाँ नियम निर्माण गर्ने तथा दुई युद्ध समाधान गर्ने अवसरका रूपमा लिएका छन् । त्रिपक्षीय बैठकअघि उनले सी र पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । गत वर्ष अलास्कामा भएको वार्ता असफल भएपछि ट्रम्प र पुटिनबीच पहिलोपटक भेट हुन लागेको हो ।
अमेरिका र युक्रेनबीचको सम्बन्ध तनावपूर्ण बन्दै गए पनि ट्रम्पले पुटिनसँगको आफ्नो व्यक्तिगत सम्बन्धको प्रशंसा गर्दै आएका छन् । यसैबीच, युक्रेनले रुसी ड्रोन आक्रमणविरुद्ध प्रयोग गर्दै आएको अमेरिकी सैन्य उपग्रह प्रणाली स्टारसिल्डको सेवा स्पेसएक्सले बेलाबेलामा सीमित गरेको छ । कम्पनीका प्रमुख एलन मस्क पनि एसिया भ्रमणमा सहभागी छन् ।
अमेरिका र रुसबीचको अन्तिम आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएको थियो । ट्रम्पले चीनलाई समेत समेटेर नयाँ तथा आधुनिक सन्धि गर्न चाहेका छन् । तर चीनसँग ६०० भन्दा बढी आणविक वारहेड रहेको अनुमान छ भने अमेरिका र रुससँग पाँच-पाँच हजारभन्दा बढी छन् । यस्तो अवस्थामा चीनले हतियारको सीमा स्वीकार गर्न कम चासो देखाएको विज्ञहरूको भनाइ छ ।
आम्र्स कन्ट्रोल एसोसिएसनका कार्यकारी निर्देशक डेरिल किमबलले त्रिपक्षीय भेटले आणविक हतियार कटौतीका लागि निरन्तर वार्ताको प्रक्रिया सुरु गर्न सक्ने बताएका छन् । उनले एउटै बैठकबाट नाटकीय उपलब्धिको अपेक्षा गर्न नसकिने स्पष्ट पारेका छन् ।
रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उसाकोभले त्रिपक्षीय वार्तामा युक्रेन युद्धबारे छलफल हुने सम्भावना रहेको बताएका छन् । ट्रम्पले इरानको द्वन्द्व पनि वार्ताको विषय बनाउन चाहेका छन् । तर युक्रेन र उसका युरोपेली सहयोगीहरूले त्रिपक्षीय वार्ताले आफूहरूलाई निर्णय प्रक्रियाबाट बाहिर राख्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । जर्मन चान्सलर फ्रेडरिक मेर्जले गत वर्षको अलास्का बैठकजस्तै अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गरेका छन् ।
सी र पुटिनबीचको सम्बन्ध भने थप घनिष्ठ देखिएको छ । बुधबार एपेक सम्मेलनमा सीले पुटिनलाई ‘पुरानो मित्र’ र पुटिनले सीलाई ‘प्रिय मित्र’ भनेका थिए । सन् २०२२ मा युक्रेनमाथि रुसको आक्रमणपछि चीनले रुसलाई आर्थिक सहयोग गर्दै आएको छ । सीले चीन-रुस सम्बन्धले विश्वमा स्थिरता र निश्चितता प्रदान गरेको बताएका छन् ।
ट्रम्पले सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताउँदै आएका छन् । यस वर्ष दुवै नेताबीच चारपटक भेट हुने कार्यक्रम छ । उनले भेनेजुएला र इरानविरुद्ध सैन्य कारबाही गरे पनि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने आकांक्षा व्यक्त गर्दै आएका छन् ।
यसैबीच, अमेरिका र चीनबीच कृत्रिम बौद्धिकता (एआई), उन्नत कम्प्युटर चिप्स र व्यापारमा प्रतिस्पर्धा बढिरहेको छ । चीनले विश्वसँग ठूलो व्यापार बचत कायम राखेको छ भने अमेरिकासँगको व्यापार असन्तुलन पनि प्रमुख विवादका रूपमा रहेको छ ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले गत साता पदबाट राजीनामा दिएको तथा एलिस हुआङसँगको विवाहबाह्य सम्बन्ध स्वीकार गरेको समाचारले पनि चिप्ससम्बन्धी विवादलाई चर्चामा ल्याएको छ । एलिस हुआङको कम्पनीले चीनलाई एनभिडियाका उन्नत चिप्समा पहुँच पुर्याउन सहयोग गरेको बताइएको छ । उनी चिनियाँ सरकारकी एजेन्ट भएको आरोप भने बेइजिङले अस्वीकार गरेको छ । चीनसँगको सम्बन्ध बिग्रन नदिन ट्रम्पले उन्नत चिप्समा उसको पहुँच रोक्ने कडा प्रतिबन्ध लगाउन हिचकिचाउएका छन् ।
एपेक सम्मेलनअघि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग भेट गरेका थिए । अमेरिकी अधिकारीहरूले चीनले अमेरिकी कृषि उत्पादन खरिद बढाउने र इलेक्ट्रोनिक्सका लागि आवश्यक दुर्लभ पृथ्वीका खनिजको निर्यात प्रतिबन्ध खुकुलो पार्ने प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन नगरेको बताएका छन् ।
गत वर्ष अमेरिका र चीनबीच भएको व्यापार युद्धविराम आगामी जनवरी १० सम्म कायम रहने व्यवस्था छ । अर्कोतर्फ, ट्रम्प प्रशासनले युक्रेन युद्ध अन्त्य गर्न रुसमाथिका व्यापारिक प्रतिबन्ध हटाउने सम्भावनालाई पनि प्रोत्साहनको माध्यमका रूपमा अघि सारेको छ । यसैबीच, अमेरिकी आक्रमण जारी रहेका बेला पनि चीन र रुसले व्यापारमार्फत इरानलाई सहयोग गर्दै आएका छन् । इरानसँगको द्वन्द्वले ऊर्जा मूल्य बढाउनुका साथै विश्वव्यापी आर्थिक वृद्धिमा नकारात्मक प्रभाव पारेको छ । रासस