तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ।
पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको उक्त पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ।
पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्नुका साथै पृथ्वीराजमार्ग हुँदै पोखरा र काठमाडौं आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ।
पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ। विशाल झण्डासहितको पार्क निर्माण योजनालाई स्थानीय पर्यटन विकाससँग जोडेर अघि बढाइएको हो।
झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार स्थानीयवासीको श्रमदानबाट निर्माण कार्य भइरहेको छ। हालसम्म १५ लाख रुपैयाँभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए।
निर्माणाधीन पार्क र विशाल राष्ट्रिय झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने उद्देश्यले झण्डा प्रदर्शन गरिएको हो।
पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग संकलन अभियानसमेत सञ्चालन गरेका छन्। यसैक्रममा आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ।
तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट संकलित रकम पार्क निर्माणमा खर्च गरिने स्थानीय अगुवा बासु पन्तले बताए।
उनका अनुसार स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण कार्य अघि बढिरहेको छ। सामूहिक श्रमदान र आर्थिक सहयोगबाट पार्कलाई पूर्णता दिने लक्ष्य राखिएको छ।
प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर पहिलेदेखि नै लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। पृथ्वीराजमार्ग नजिकै नयाँ पर्यटकीय संरचना निर्माण भएपछि यस क्षेत्रको आकर्षण थप बढ्ने स्थानीयको अपेक्षा छ।
राजमार्ग हुँदै दैनिक ठूलो संख्यामा पोखरा र काठमाडौं आवतजावत गर्ने यात्रुलाई पार्कमा केही समय रोकेर दृश्यावलोकन तथा तस्बिर खिच्ने अवसर प्रदान गर्न सकिने विश्वास गरिएको छ।
पार्क निर्माणले बन्दीपुरको पर्यटकीय पहिचान विस्तार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। रासस