• Menu

खानेपानी र सरसफाइका प्राविधिक विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार १७:०१

खानेपानी र सरसफाइका प्राविधिक विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

काठमाडौं । खानेपानी आयोजना, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन तथा सरसफाइ क्षेत्रका प्राविधिक र कानुनी विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रसँग सम्बन्धित ऐन, नियम र नीतिबारे जानकारी समेटिएको छ।

नेपालको खानेपानी तथा सरसफाइ क्षेत्रमा नेपाली परिवेशअनुकूल प्राविधिक सन्दर्भ सामग्रीको अभाव पूरा गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको लेखक श्रेष्ठले बताएका छन्। उनका अनुसार खानेपानी तथा ढल आयोजनाको योजना निर्माण, डिजाइन, कार्यान्वयन र व्यवस्थापनका लागि आवश्यक प्राविधिक ज्ञान, राष्ट्रिय मापदण्ड तथा कानुनी व्यवस्थालाई एउटै पुस्तकमा समेटिएको छ।

हेरिटेज पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स प्रालि, भोटाहिटीले प्रकाशन गरेको पुस्तक इन्जिनियर, प्राविधिक जनशक्ति, विद्यार्थी तथा लोक सेवा आयोगका परीक्षार्थीलाई लक्षित गरी तयार पारिएको हो।

पुस्तकमा खानेपानी आयोजनाको डिजाइनका आधार, पानीको स्रोतको क्षमता निर्धारण, खानेपानीको माग प्रक्षेपण, प्रशोधन तथा वितरण प्रणालीको डिजाइनलगायतका विषय समावेश छन्। त्यस्तै नेपालको जलस्रोत, खानेपानी तथा सरसफाइको अवस्था, पानी संकलन, प्रसारण तथा वितरण प्रणाली, पम्पिङ, खानेपानी प्रशोधन र उन्नत प्रशोधन प्रविधिबारे पनि विस्तृत जानकारी दिइएको छ।

यसका अतिरिक्त खानेपानी सेवा प्रदायक संस्थाको व्यवस्थापन, आम्दानी नहुने पानी (नन रिभेन्यु वाटर), सञ्चालन तथा मर्मतसम्भार, वित्तीय व्यवस्थापन र जोखिम मूल्यांकनका विषयलाई पनि पुस्तकमा स्थान दिइएको छ।

भूमिगत पानीसम्बन्धी खण्डमा पानीको बहाव, अनुसन्धान, ट्युबवेलको डिजाइन तथा निर्माण, पम्पिङ परीक्षण, पानीको गुणस्तर र संरक्षणका विषय समेटिएका छन्। यसले भूमिगत पानीमा आधारित खानेपानी आयोजनाको अध्ययन तथा व्यवस्थापनमा संलग्न प्राविधिकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

लेखक श्रेष्ठले खानेपानी र सरसफाइलाई छुट्टाछुट्टै पूर्वाधारका रूपमा मात्र हेर्न नहुने बताएका छन्। उनका अनुसार पानीको स्रोतदेखि उपभोक्तासम्मको आपूर्ति तथा प्रयोगपछि निस्कने फोहोरपानी र दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनसम्मको समग्र सेवा शृङ्खलालाई बुझ्न आवश्यक छ।

नेपाली परिवेश, राष्ट्रिय मापदण्ड, प्राविधिक ज्ञान र कानुनी व्यवस्थालाई एउटै पुस्तकमा समेटिएकाले यो खानेपानी तथा सरसफाइ क्षेत्रको अध्ययन, अनुसन्धान, आयोजना डिजाइन र प्राविधिक सेवामा प्रवेश गर्न चाहने जनशक्तिका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।