ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफू वा पार्टीका तर्फबाट कुनै पनि आर्थिक लेनदेन तथा अनुचित काम नभएको दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत श्रव्य सामग्री सार्वजनिक गर्दै सभापति थापाले इनम सापकोटासँग जोडेर सार्वजनिक भएको अडियो प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन्।
पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै थापाले उक्त प्रकरणलाई बदनियतपूर्ण हल्लाको संज्ञा दिएका छन्। उनले पार्टी र नेतृत्व सबै प्रकारका अनुसन्धानका लागि तयार रहेको पनि स्पष्ट पारेका छन्।
प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियो कहाँ, कहिले, कसले र कुन परिस्थितिमा बोलेको हो भन्नेबारे आफूलाई जानकारी नभएको थापाको भनाइ छ। अडियोमा आफ्नो नाम जोडिएको विषयमा थप स्पष्टीकरण दिइरहन आवश्यक नभए पनि सार्वजनिक रूपमा आफ्नो धारणा स्पष्ट पारेको उनले बताएका छन्।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई पार्टीभित्र परिवर्तनको मागसहित भएको विद्रोहका रूपमा व्याख्या गर्दै थापाले गत वर्ष भदौ २३ र २४ गते युवाहरूले गरेको विद्रोहको सम्मान गर्दै पार्टीभित्र परिवर्तनका लागि आफूहरू अघि बढेको बताए।
पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको दाबी गर्दै उनले एक सुका पनि अनुचित कारोबार नभएको जिकिर गरे।
‘नेपाली कांग्रेसको आधिकारिकताको लडाइँमा रुपैयाँ होइन, एक सुका पनि कुनै आर्थिक लेनदेन वा अनुचित काम भएको छैन,’ उनले भने।
थापाले अडियो प्रकरणमा आफूलाई प्रश्न गर्नुभन्दा अनुसन्धान गर्नुपर्ने निकायसँग प्रश्न गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेका छन्। सापकोटासँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गरी संलग्न सबै पक्षको भूमिका सार्वजनिक हुनुपर्ने उनको भनाइ छ।
‘अनुसन्धान निष्पक्ष हुनुपर्छ। दूधको दूध, पानीको पानी छुट्टिने गरी छानबिन हुनुपर्छ,’ उनले भने।
अडियो सार्वजनिक भएपछि आफू डराएर राजनीतिक भेटघाटमा सक्रिय भएको भन्ने प्रचारप्रति पनि थापाले आपत्ति जनाएका छन्। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको विश्वासको मतसम्बन्धी विषय र अन्य राजनीतिक संवादका क्रममा विभिन्न दलका नेताहरूसँग भेटघाट भएको उनले स्पष्ट पारे।
आफूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक विषयमा भेटघाट गरेको उल्लेख गर्दै उनले ती भेटलाई अडियो प्रकरणसँग जोडेर व्याख्या गर्नु उचित नभएको बताए।
सभापति थापाले वर्तमान सरकारले पाँच वर्षका लागि प्राप्त जनादेशको सम्मान गर्दै विपद्पछिको पुनर्स्थापना, घरबारविहीन नागरिकको व्यवस्थापन, अर्थतन्त्र सुधार, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताएका छन्।
विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना, खुला स्थानमा बस्न बाध्य सुकुमबासीको व्यवस्थापन र कमजोर बन्दै गएको अर्थतन्त्र सुधार गर्नु सरकारको प्राथमिकता हुनुपर्ने उनको सुझाव छ। सरकारले सही काम गर्दा कांग्रेसले सहयोग गर्ने र गलत काम गर्दा प्रश्न उठाउने उनले बताए।
लोकतान्त्रिक अधिकार खुम्च्याउने तथा राज्यका संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ।
‘ठीक कुरामा साथ दिने कुरा पनि बन्द हुँदैन, गलत कुरालाई प्रश्न गर्ने र प्रतिवाद गर्ने कुरा पनि बन्द हुँदैन,’ उनले भने।
आफू कमजोर नैतिक धरातलमा नरहेको दाबी गर्दै थापाले कुनै अनैतिक काममा संलग्न नभएको बताएका छन्। विगतमा पनि शक्तिशाली सरकारका गलत कामविरुद्ध आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले आफ्नो राजनीतिक भूमिका आगामी दिनमा पनि नबदलिने स्पष्ट पारे।
आफूविरुद्ध पटकपटक प्रायोजित प्रचार तथा चरित्रमाथि प्रश्न उठाउने प्रयास हुने गरेको दाबी गर्दै उनले त्यसबाट विचलित नभई जिम्मेवारी निर्वाह गरिरहने बताए।
‘प्रश्न गर्ने अधिकार मर्नु हुँदैन। प्रश्न मरे लोकतन्त्र मात्र होइन, हाम्रो प्रगति पनि रोकिन्छ,’ उनले भने।
राजनीतिक विवाद र प्रायोजित हल्लाका कारण सही प्रश्न उठाउने प्रवृत्ति कमजोर हुन नहुनेमा जोड दिँदै थापाले प्रश्न गर्ने अधिकार र लोकतान्त्रिक अभ्यास सुरक्षित रहे मात्रै मुलुकको प्रगति सम्भव हुने धारणा राखेका छन्।