काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लुम्बिनी लायन्सले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनीले अपराजित यात्रा कायम राखेको हो।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रनमा समेटियो। यससँगै चार खेलबाट सात अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ।
जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए। सैफ हसनले २८, आदित्य महतोले अविजित ३० तथा त्रितराज दासले १८ रनको योगदान दिए।
लुम्बिनीको जितमा डिआर्सी शर्टले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। शेर मल्ल र तिलक भण्डारीले समान दुई तथा रुबेन ट्रम्पेलम्यानले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो। टोलीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे।
त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ र रुबेन ट्रम्पेलम्यानले १५ रन जोडे।
जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए। ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले एक-एक विकेट लिए।