• Menu

साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो सुरु, ४ हजारभन्दा बढी प्रदर्शक सहभागी

नेपाल प्रफिट

२०८३ कात्तिक १९, बिहीबार १६:४६

साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो सुरु, ४ हजारभन्दा बढी प्रदर्शक सहभागी

एजेन्सी । चीनको नवौँ अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि पूर्वी चीनको साङ्घाईमा सुरु भएको छ। आयात व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिने विश्वकै पहिलो राष्ट्रियस्तरको प्रदर्शनीका रूपमा रहेको यस एक्सपो नोभेम्बर १० सम्म सञ्चालन हुनेछ।

उद्घाटन समारोहमा चिनियाँ उपप्रधानमन्त्री डिङ जुएजियाङले मुख्य सम्बोधन गरेका थिए।

यस वर्षको एक्सपोमा चार हजार १४२ विदेशी प्रदर्शक सहभागी भएका छन्। सहभागीमध्ये ३०० भन्दा बढी फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका कम्पनी तथा विभिन्न उद्योगका अग्रणी संस्थाहरू छन्।

आयोजकका अनुसार यस संस्करणमा ४८० भन्दा बढी उत्पादन तथा प्रदर्शनीले विश्व, एसिया वा चीनमा पहिलोपटक सार्वजनिक प्रदर्शन गर्नेछन्। यो एक्सपोको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो।

यस वर्ष प्रदर्शनीका लागि चार लाख ४० हजार वर्ग मिटरभन्दा बढी क्षेत्रफल छुट्याइएको छ। अमेरिकी प्रदर्शकहरूले मात्रै ५० हजार वर्ग मिटरभन्दा बढी क्षेत्र ओगटेका छन्। लगातार आठौँ वर्ष पनि जर्मनी, बेलायत र फ्रान्सका कम्पनीहरू प्रमुख सहभागीका रूपमा रहेका छन्।

एक्सपोमा बौद्धिक उद्योग तथा सूचना प्रविधि, उपभोक्ता वस्तु, खाद्य तथा कृषि उत्पादन, अटोमोबाइल, चिकित्सा उपकरण तथा स्वास्थ्य सेवा र सेवा व्यापार गरी छवटा प्रमुख प्रदर्शनी क्षेत्र समेटिएका छन्। यससँगै नवीनता प्रवर्द्धनका लागि छुट्टै इन्क्युबेसन खण्ड पनि राखिएको छ।

नवीनता इन्क्युबेसन खण्डमा करिब ४० देश तथा क्षेत्रका ६३३ प्रविधि र नवप्रवर्तनसम्बन्धी परियोजना समावेश छन्। यो सङ्ख्या अघिल्लो संस्करणको तुलनामा करिब २० प्रतिशत बढी हो।

एक्सपोसँगै साङ्घाईमा आयोजना भइरहेको होङ्कियाओ अन्तर्राष्ट्रिय आर्थिक मञ्चले बिहीबार विश्व खुलापन प्रतिवेदन २०२६ सार्वजनिक गरेको छ। मञ्चले पहिलोपटक चीनमा निर्यात गर्ने क्षमताको विकाससम्बन्धी प्रतिवेदनसमेत सार्वजनिक गरेको छ।

सन् २०१७ मा घोषणा गरिएको सीआईआईई सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ। यसले विदेशी व्यवसाय तथा कम्पनीलाई चीनको विशाल र विस्तार हुँदै गएको बजारमा प्रवेश तथा व्यापारिक सम्बन्ध विकास गर्ने अवसर प्रदान गर्दै आएको छ।

एक्सपोका अघिल्ला आठ संस्करणमा १८० भन्दा बढी देश, क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाले सहभागिता जनाएका थिए। ती संस्करणमा तीन हजार ४०० भन्दा बढी नयाँ उत्पादन, प्रविधि तथा सेवाको सुरुवात भएको थियो। यस अवधिमा भएका इच्छित व्यापारिक सम्झौताको कुल मूल्य ५८० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको आयोजकले जनाएको छ।