• Menu

सभामुखले किन भेटे राष्ट्रपतिलाई ?

नेपाल प्रफिट

२०८३ कात्तिक २०, शुक्रबार १३:२६

सभामुखले किन भेटे राष्ट्रपतिलाई ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा भएको भेटवार्तामा उनीहरुबीच संसद्को आगामी अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए । संसद्मा हुने विचार विमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका काम कारबाहीका विषयमा समेत चासो राखेका थिए ।

त्यस अवसरमा सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलबाट संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तर व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराए ।

त्यस्तै तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई अवगत गराएका छन् ।

सचिवालयका अनुसार सातवटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाका विषयमा पनि सभामुख अर्यालले जानकारी गराएका छन् ।