• Menu

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, ०.५ प्रतिशतबाटै ब्याजदर सुरु

नेपाल प्रफिट

२०८३ कात्तिक ११, बुधबार १६:५३

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना सार्वजनिक, ०.५ प्रतिशतबाटै ब्याजदर सुरु

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा विशेष छुट सुविधासहितको ‘सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा छुटसहित उक्त योजना ल्याएको हो।

बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्। कर्जाको प्रारम्भिक प्रिमियम ब्याजदर ०.५ प्रतिशतबाट सुरु हुने र कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने व्यवस्था गरिएको छ। यस कर्जामा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ।

योजनाअन्तर्गत कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा प्राप्त गर्नेछन्। साथै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको योजनाको अवधि २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म अर्थात् कुल ९० दिन रहनेछ।

नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते सोमबार आफ्नो स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ। वार्षिकोत्सवको अवसरमा ल्याइएको यस योजनाले सर्वसाधारणलाई घरजग्गासम्बन्धी वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।

नेपालभर २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ। बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत ग्राहक सेवामा सुधार गर्दै आएको दाबी गरेको छ।

बैंकले छिटोछरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै आधुनिक बैंकिङ प्रणालीमार्फत देशभर वित्तीय सेवा विस्तार गरिरहेको जनाएको छ।