• Menu

सिटिजन्स बैंकका सेयरधनीले ४ प्रतिशत लाभांश पाउने

नेपाल प्रफिट

२०८३ असोज २८, बुधबार १४:१४

सिटिजन्स बैंकका सेयरधनीले ४ प्रतिशत लाभांश पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा सभा सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत एकीकृत वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बैंकका अनुसार ३.८० प्रतिशतका दरले हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर तथा ०.२० प्रतिशतका दरले हुने तीन करोड १० लाख १४ हजार ९२७ रुपैयाँ २३ पैसा नगद लाभांश वितरण गरिनेछ । दुवै शीर्षकमा गरी कुल ६२ करोड दुई लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

बैंकले आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ । पछिल्ला २० वर्षमा बैंकको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावअनुसार बैंकको कामकारबाही सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे । उनले संस्थागत सुशासन तथा नियामकीय अनुपालनको स्तर उच्च राख्न बैंक प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यसलाई थप सुदृढ बनाउँदै लैजाने जानकारी दिए । बैंकलाई निरन्तर सहयोग पुर्‍याउने सेयरधनी तथा अन्य सरोकारवालाप्रति उनले आभार व्यक्त गरे ।

बैंकले अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाउँदै आएको जनाएको छ । विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’ सन् २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो ।

त्यस्तै, बैंकले युवा पुस्तालाई लक्षित ‘सिटिजन्स जेन-जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । स्वतन्त्र पेसाकर्मीलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले मोबाइल बैंकिङ अनुप्रयोगमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ । साथै, क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखामा रहेको टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।