• Menu

नेप्से ४ अंकले बढ्यो, कारोबार रकम घटेर साढे ४ अर्बमा सीमित

नेपाल प्रफिट

२०८३ असोज २६, सोमबार १५:३७

नेप्से ४ अंकले बढ्यो, कारोबार रकम घटेर साढे ४ अर्बमा सीमित

काठमाडौं । साताको  पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंकले बढेको छ। अघिल्लो कारोबार दिन १७.१५ अंकले बढेको नेप्से आजको सामान्य वृद्धिपछि २५९५ अंकमा कायम भएको छ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।

आज कारोबारमा आएका कम्पनीमध्ये १०५ वटाको सेयर मूल्य बढेको छ भने १६५ वटाको घटेको छ। सात कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ र व्यापार समूहमा वृद्धि

सोमबार बैंकिङ समूहमा सबैभन्दा बढी आकर्षण देखिएको छ। उक्त समूहको सूचक १.०१ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार समूह १.०२ प्रतिशतले उकालो लागेको छ।

जीवन बिमा समूह ०.०५ प्रतिशत, विकास बैंक ०.५३ प्रतिशत र वित्त समूह ०.२१ प्रतिशतले बढेका छन्।

यता होटल तथा पर्यटन समूह ०.८७ प्रतिशत, जलविद्युत ०.४६ प्रतिशत, लगानी ०.२८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१९ प्रतिशत, लघुवित्त ०.०१ प्रतिशत, निर्जीवन बिमा ०.१२ प्रतिशत र अन्य समूह ०.४२ प्रतिशतले घटेका छन्।

धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो

सोमबार धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। स्नो रिभर्सको मूल्य १३.९२ प्रतिशत, बुंगल हाइड्रोपावरको ४.७५ प्रतिशत र सुपर माई हाइड्रोपावरको ३.९८ प्रतिशतले बढेको छ।

त्यस्तै, रिजलाइन इनर्जीको सेयर मूल्य ६.२९ प्रतिशतले घटेको छ। टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२ प्रतिशत, होटल फरेस्ट इनको ४.०१ प्रतिशत र नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशतले मूल्य घटेको छ।

कारोबारमा कुमारी बैंक अगाडि

सोमबार कारोबार रकमका आधारमा कुमारी बैंक अगाडि रहेको छ। त्यसपछि घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक र हिमालयन डिस्टिलरी क्रमशः बढी कारोबार हुने कम्पनीमा परेका छन्।