• Menu

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

नेपाल प्रफिट

२०८३ असोज २०, मंगलबार १६:२९

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी बढुवा भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।

यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत रेग्मी सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । उनी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन् ।

रेग्मीले बैंकमा प्रमुख वित्तीय अधिकृत, प्रमुख मानव संसाधन अधिकृत, प्रमुख कर्जा अधिकृत तथा व्यापार वित्त प्रमुखलगायतका जिम्मेवारी सम्हालिसकेका छन् । उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समितिको अध्यक्षसमेत छन् ।

रेग्मीले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

आधुनिक प्रविधि र ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ। बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेस्ट एम्प्लोयरलगायतका सम्मानसमेत प्राप्त गरेको जनाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ वटा विस्तार तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले विदेशबाट वैधानिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउने प्रमुख वित्तीय संस्थाका रूपमा समेत आफ्नो भूमिका विस्तार गरेको जनाएको छ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको बैंकले जनाएको छ।