काठमाडौं । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरूले पछिल्लो वर्षासँगै आएको बाढीपहिरोबाट क्षति भएका सडक तथा पुल तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले मध्यपहाडी राजमार्ग, कालीगण्डकी करिडोर, बेंसीसहर-चामे सडकखण्डलगायत विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक तथा पुलमा क्षति पुर्याएको भन्दै तत्काल पुनर्निर्माण र मर्मतको काम अघि बढाउन माग गरेका हुन् ।
सांसद पद्माकुमारी अर्यालले बाढीपहिरो प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरिन् । उनले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सडक, पुल र निजी सम्पत्तिमा क्षति पुगेकाले तत्काल खोज, उद्धार र राहतमा ध्यान दिनुपर्ने बताइन् ।
सांसद सुशील खड्काले मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर क्षेत्रमा बाढीपहिरोबाट बढी क्षति भएको भन्दै सडक र पुल निर्माणको काम तत्काल अघि बढाउन माग गरे । जलवायु परिवर्तनका कारण विपद्का घटना बढ्दै गएको भन्दै उहाँले राज्यले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउनुपर्ने बताए ।
सांसद टेकबहादुर गुरुङले मनाङका विभिन्न संरचनामा बाढीले क्षति पुर्याएको तथा बेंसीसहर-चामे सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको बताउँदै तत्काल सडक सञ्चालनको व्यवस्था गर्न आग्रह गरे ।
त्यस्तै, सांसद भरतप्रसाद पराजुलीले बाढीपहिरोका कारण मुस्ताङको कोरला नाका बन्द हुँदा चीनसँगको व्यापार प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरूले बागलुङ, कास्की, चितवन, नवलपरासी, मनाङ, मुस्ताङ, पाल्पा, बर्दिया, ललितपुरलगायत जिल्लामा बाढीपहिरोबाट भएको क्षति, डुबान र सडक अवरोधको विषयसमेत सदनमा उठाएका छन् ।
यसैबीच, सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ तथा रिहाइबारे सरकारको धारणा माग गरेका छन् । सांसद ऐनबहादुर महरले विभिन्न राजनीतिक नेतृत्व तथा न्यायाधीशलाई पक्राउ र अपमान गर्ने गतिविधि दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराए ।