• Menu

इसेवाको सीईओमा नीरज शर्मा नियुक्त

नेपाल प्रफिट

२०८३ असोज १२, सोमबार १६:०८

इसेवाको सीईओमा नीरज शर्मा नियुक्त

काठमाडौं । इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नीरज शर्मा नियुक्त भएका छन् ।

इसेवा सञ्चालक समितिको गत भदौ ३० गते बसेको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आगामी चार वर्ष इसेवाको नेतृत्व सम्हाल्ने छन् ।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा खुद्रा बैंकिङ क्षेत्रमा अनुभवी छन् । डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा विकास तथा संस्थागत रूपान्तरणमा समेत उनको अनुभव रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार शर्माको नेतृत्वले इसेवाको डिजिटल वित्तीय सेवाको विस्तार र आगामी रणनीतिक प्राथमिकतालाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा

यसैबीच, इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ । २०७९ साल असोज १२ गते सीईओमा नियुक्त भएका खड्काले कार्यकाल पूरा गरेका हुन्  ।

खड्काको नेतृत्वमा इसेवाका प्रयोगकर्ता १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ । उनको कार्यकालमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे लगायतका सेवा तथा सुविधाको विस्तार गरिएको थियो ।

दृष्टिविहीन नागरिकका लागि ‘टक ब्याक’ सुविधा तथा नेपाली भाषामा एप सञ्चालन गरी डिजिटल वित्तीय सेवाको पहुँच विस्तारमा समेत उनको नेतृत्वमा काम भएको कम्पनीले जनाएको छ ।