• Menu

पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो, बेपत्ता भएकाहरूको शव भेटियो

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १६:५०

पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो, बेपत्ता भएकाहरूको शव भेटियो

पाल्पा । पाल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईका अनुसार  पहिरोमा परी बेपत्ता भएका माथागढी गाउँपालिका-३ कसेनी भैसीकट्टाका ७५ वर्षीय लिलबहादुर घर्तीमगर, उनकी १७ वर्षिया छोरी दिना घर्ती र छिमेकी  मोतिलाल घर्तीकी १५ वर्षिया छोरी झरना घर्तीको शव भेटिएको हो ।

यसअघि आज बिहान पहिरोमा परी माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको थियो । चिदीलाई घाइते अवस्थामा उद्धार गरी जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सककले मृत घोषणा गरेका थिए भने सारुको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो ।

निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लिलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको थियो । घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उनीहरू बेपत्ता भएका थिए । सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट तीन जनाको शव निकालेको हो । मृत पाँचै जनाको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा शव राखिएको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए ।