चितवन । नारायणी नदीमा आज जलसतह ११.९४ मिटर पुगेको छ । देवघाटस्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २:१० बजे नारायणीको जलसतह ११.९४ मिटर पुगेको थियो । यहाँ ७.३० मिटरलाई चेतावनी तह र ९ मिटरलाई खतराको तह मानिन्छ । पछिल्लो मापनअनुसार दिउँसो ३:४० बजे नदीको जलसतह ११.७५ मिटरमा झरेको छ । नदीको जलसतह घट्दो क्रममा रहे पनि खतराको तहभन्दा निकै माथि छ ।
नारायणी बेसिन फिल्ड कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इञ्जिनियर सुमित अधिकारीका अनुसार नारायणीमा जलमापन गर्न थालेपछिकै हालसम्मको उच्च जलसतह आज मापन भएको हो । पहाडी क्षेत्रमा वर्षा भइरहेकाले नदीको जलसतहमा थप उतारचढाव आउन सक्ने उनले बताए ।
कार्यालयका अभिलेखअनुसार २०८१ साल असोज १२ गते नारायणी नदीमा उच्चतम जलसतह ११.६ मिटर पुगेको थियो । २०८० साल साउन २९ गते ८.३३ मिटर, २०७९ साल असोज २० गते ९.५२ मिटर र २०७८ साल असार २ गते १०.५० मिटर उच्चतम जलसतह मापन गरिएको अभिलेखमा उल्लेख छ । उनका अनुसार देवघाटमा सन् १९६३ देखि जलमापन गर्न थालिएको हो ।