• Menu

वीरगन्ज महानगरपालिकाद्वारा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १७:३१

वीरगन्ज महानगरपालिकाद्वारा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु

पर्सा । वीरगन्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरुप सार्वजनिक विद्युतका खम्बा तथा सार्वजनिक स्थानमा नियमविपरीत राखिएका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री आजदेखि हटाउन सुरु गरेको हो ।

महानगरपालिकाले सार्वजनिक पोल तथा स्थानमा विज्ञापन सामग्री राख्नुअघि महानगरपालिकाबाट आवश्यक अनुमति लिन आग्रह गर्दै वीरगन्जका विभिन्न चोक तथा सडकका विद्युत खम्बामा जथाभावी टाँगिएका निजी क्लिनिक, चिकित्सक तथा विभिन्न व्यवसायका प्रचार सामग्री हटाउने कामको थालनी गरिएको महानगरका हरियाली संयोजक प्रकाश खेतानले जानकारी दिए ।

महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत वीरगन्जका मुख्य सडक, चोक तथा विद्युतका खम्बामा अनुमति नलिई राखिएका प्रचार सामग्री हटाउने कार्य तीव्र पारिएको उनको भनाइ छ । उनले भने, ‘महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने दायित्व हामी सबैको हो, त्यसैले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने र अनुमतिविना विज्ञापन राख्ने छुट कसैलाई छैन ।’

महानगरपालिकाले कुनै पनि अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री नराख्नसमेत सम्बन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको छ ।

अहिले सडक डिभिजन कार्यालय हेटौंडाले वीरगन्जको मुख्य सडकलाई आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने उद्देश्यअनुरुप त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५-२५ मिटर दायाँ-बायाँ विस्तार गर्ने उद्देश्यअनुसार घरहरु भत्काउने काम सम्पन्न गरेको छ ।