• Menu

बहाव एक लाख ७५ हजार क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १६:११

बहाव एक लाख ७५ हजार क्युसेक नाघेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल-भारत आवागमन प्रभावित भएको छ ।

आइतबार बिहान महाकाली नदीमा गरिएको मापनअनुसार नदीमा पानीको बहाव एक लाख ७५ हजार ७०० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

महाकाली नदीमा पानीको बहाव बढ्दा शारदा ब्यारेक (बनवाशा पुल) मा भारतीय पक्षले चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । पैदलयात्रु र मोटरसाइकललगायत साना सवारीसाधन मात्रै सञ्चालन गर्न दिएको छ । करिब १०० वर्ष पुरानो बनवाशा पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि ठूला सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ ।

सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय धारचुलालगायत क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ्ने गर्छ । ‘आज बिहान ४ बजेको मापनमा पानीको बहाव एक लाख सात हजार क्यसेक थियो । अहिले ११ बजेको मापनमा बढेर एक लाख ७५ हजार नाघेको छ,’ प्रवक्ता रावतले भने, ‘निरन्तर वर्षासँगै महाकालीमा पानीको बहाव बढिरहेकाले सर्तकता अपनाउन तटीय क्षेत्रका नागरिकलाई अनुरोध गर्दर्छौ ।’ अहिले पुलमा दुवैतर्फ ठूला सवारीसाधन सञ्चालन गर्दै दिइएको छैन ।

त्यसैगरी भारी वर्षा भएर जनधनको क्षति हुन सक्ने आँकलनपछि विपद् पूर्वतयारी अनुरुप दुई दिनदेखि कञ्चनपुरको महेन्द्रनगर र बेलौरीबाट चल्ने लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखिको वर्षाका कारण काठमाडौं, पोखरालगायत लामो दुरीका यात्रुवाहक बसहरु सञ्चालन नभएको बताए ।

‘धनगढी-महेन्द्रनगरलगायत छोटो दुरीका यात्रुवाहक सवारीसाधन चले पनि लामो दुरीमा सञ्चालन मौसमका कारण गरिएको छैन,’ अध्यक्ष भट्टले भने, ‘त्यसैगरी यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा सवारीसाधन पठाइएको छैन । पहाडमा लगातारको वर्षाले पहिरोको जोखिम रहेको छ ।’