काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । विपद्का कारण केही स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुनुका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादनसमेत प्रभावित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । कुश्मा-नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ ।
प्रसारण लाइनमा आएको क्षतिका कारण कालीगण्डकी करिडोरमा जोडिएका करिब ३५८ मेगावाट विद्युत उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ ।
बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको छ । प्राधिकरणले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरेको जनाएको छ ।
सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध हुँदा केही प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ । सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने प्राधिकरणले जनाएको छ ।
प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न उपलब्ध स्रोतसाधन उच्च प्राथमिकताका साथ परिचालन भइरहेको प्राधिकरणले जनाएको छ । साथै, विपद्को अवस्थामा संयमित रहन तथा क्षतिग्रस्त विद्युत संरचना, ढलेका पोल र तार नजिक नजान उपभोक्तालाई आग्रह गरिएको छ ।