• Menu

सुदूरपश्चिममा विपद् प्रतिकार्य तयारी तीव्र, सेनाको हेलिकप्टर तयारी अवस्थामा

नेपाल प्रफिट

२०८३ असोज ७, बुधबार १६:३४

सुदूरपश्चिममा विपद् प्रतिकार्य तयारी तीव्र, सेनाको हेलिकप्टर तयारी अवस्थामा

कैलाली । आगामी शुक्रबारदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने पूर्वानुमानपछि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यका लागि सुरक्षा तथा प्रशासनिक संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका निमित्त प्रमुख सञ्जयकुमार शाहका अनुसार सम्भावित वर्षाका कारण बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सतर्कता अपनाउन ‘अलर्ट’ जारी गरिएको छ। चुरे क्षेत्रमा समेत वर्षाको सम्भावना रहेकाले कैलाली र कञ्चनपुरलाई पनि जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको उनले बताए।

उच्च जोखिममा रहेका पहाडी जिल्लामा स्थानीय प्रशासनले पनि पूर्वतयारी तीव्र पारेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित विपद्बाट बच्न नागरिक तहसम्म सूचना प्रवाह गरिएको बताए।

उनका अनुसार सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न स्काभेटर तयारी अवस्थामा राखिएको छ भने करिब दुई महिनासम्म पुग्ने खाद्यान्नको बन्दोबस्त गरिएको छ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले गृह मन्त्रालयसँग समन्वय गरी विपद् पूर्वतयारीबारे छलफल भइरहेको जानकारी दिए। उच्च जोखिममा राखिएकाले सोहीअनुसार जिल्लामा प्रतिकार्यको तयारी भइरहेको उनले बताए।

सुरक्षा निकायले पनि सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि तयारी तीव्र पारेका छन्। सशस्त्र प्रहरी बल श्री नं. ७ वैद्यनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेयका अनुसार मौसम पूर्वानुमानका आधारमा विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।

उनका अनुसार सुदूरपश्चिममा तैनाथ सशस्त्र प्रहरीका कर्मचारीलाई यस अवधिमा बिदा दिइएको छैन। विपद् प्रतिकार्यका लागि १४ वटा अस्थायी विपद् सुरक्षा बेससमेत तयारी अवस्थामा राखिएका छन्। सरोकारवाला निकाय तथा सुरक्षा संयन्त्रबीच निरन्तर समन्वय भइरहेको उनले बताए।

बंगालको खाडीको मध्य भू-भाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा समेत पर्ने मौसम पूर्वानुमान गरिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भन्दै सुरक्षा समितिहरूले प्रतिकार्य तयारी अघि बढाएका छन्।

नेपाली सेनाले पनि सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यका लागि आवश्यक तयारी पूरा गरेको जनाएको छ। प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिम पृतनामा सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।