पोखरा । दुबई-पोखरा-दुबई नियमित उडानअन्तर्गत पहिलोपटक पोखरा आउन लागेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष स्वागत गरिने भएको छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच घण्टाको उडानपछि फ्लाई दुबईको जहाज बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
जहाज अवतरणसँगै पानीको फोहराले स्वागत गरिनेछ। यात्रुको स्वागतमा सरकारी अधिकारी, पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा व्यवसायी सहभागी हुनेछन्। पहिलो उडानबाट पोखरा आउने यात्रुको स्वागतसँगै पोखराबाट दुबई जाने यात्रुलाई समेत बिदाइ गरिनेछ ।
संयुक्त अरब इमिरेट्सका राजपरिवारका सदस्य शेख अहमद बिन राशिद अल मक्तुमको निधनका कारण फ्लाई दुबईको नियमित उडान सुरुआतको अवसरमा पोखरामा आयोजना हुने औपचारिक स्वागत समारोह भने रद्द गरिएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रुलाई विशेष उपहार प्रदान गरिने नाट्टा गण्डकीकी अध्यक्ष सङ्गीता पौडेलले बताइन्। होटल, रेष्टुराँ तथा पर्यटन व्यवसायीले समेत यात्रुलाई उपहार र प्रवर्द्धनात्मक सामग्री प्रदान गर्ने तयारी गरेका छन्।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको नियमित उडानसँगै पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको बताए। यसबाट पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमन सहज हुने उनको भनाइ छ ।
फ्लाई दुबईको जहाज साँझ ६ः१५ बजे पोखरा अवतरण गरी यात्रु तथा कार्गो लिएर ७ः१५ बजे दुबई फर्कनेछ। उडान सञ्चालनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको विमानस्थलले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएयता नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। यसअघि केही वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। फ्लाई दुबईले नियमित उडान सुरु गरेसँगै पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने नयाँ अवसर सिर्जना भएको अधिकारीहरूको भनाइ छ ।
सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विमानस्थलका विभिन्न शुल्कमा छुटसमेत दिएको छ। विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, अवतरण तथा हवाई मार्गसम्बन्धी शुल्क पूर्ण रूपमा छुट गरिएको छ भने भूमिस्थ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
फ्लाई दुबईबाट आउने यात्रुलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले पनि छुट योजना ल्याएका छन्। होटल संघ पोखराका अनुसार पहिलो तीन महिनाका लागि करिब ५० होटलमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। पहिलो उडानबाट आउने यात्रुका लागि एक रातको बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गर्ने व्यवस्था समेत गरिएको छ।
रेवान पोखराले पनि आबद्ध रेष्टुराँमा फ्लाई दुबईबाट आउने यात्रुलाई १५ देखि २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।
फ्लाई दुबईले दैनिक साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखराबाट दुबईका लागि उडान भर्ने तालिका रहेको छ। दुबईलाई हवाई ट्रान्जिट केन्द्र बनाएर युरोप, अमेरिका, अस्ट्रेलियालगायत गन्तव्यमा जाने यात्रुलाई यस उडानले थप सहजता दिने अपेक्षा गरिएको छ।
फ्लाई दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक साझेदारीअन्तर्गत पोखरा-दुबई उडान सञ्चालन हुने भएकाले पोखराबाट विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा एउटै टिकटमार्फत यात्रा गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।