मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका-५ चैनपुर र मनहरी गाउँपालिका-६ सुनाचुरीमा निर्माणाधीन दुई ‘मोबाइल टावर’ दसैँअघि सञ्चालनमा ल्याउनेगरी काम भइरहेको छ ।
सांसद प्रशान्त उप्रेतीले सो जानकारी दिँदै कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर सञ्चालनको अन्तिम चरणमा रहेको बताए । त्यसैगरी, मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडाखर्क, नामटार र भार्तासँगै थाहा नगरपालिकाको चनवनमा समेत मोबाइल टावर निर्माणको काम भइरहेको उनले जानकारी दिए । आवश्यकताअनुसार अन्य स्थानमा रहेका टावरको स्तरोन्नतिको कामसमेत अघि बढाइएको उनको भनाइ छ ।
सांसद उप्रेतीले गत भदौ ३० गते बसेको प्रतिनिधिसभा बैठकमा मकवानपुर निर्वाचन क्षेत्र नं २ का विभिन्न स्थानमा कमजोर मोबाइल नेटवर्कका कारण नागरिकले भोग्नुपरेको समस्या उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । तत्काल सूचना तथा सञ्चार मन्त्रालयले चासो लिँदै काम अगाडि बढाएको थियो ।
‘मकवानपुरका दुर्गम बस्तीका नागरिकले अझै पनि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘अब परिणाम नागरिकले अनुभूति गर्नेगरी काम सम्पन्न हुनु आवश्यक छ ।’ निर्माणाधीन टावर निर्धारित समयमै सञ्चालनमा ल्याई नागरिकलाई भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।