• Menu

नारायणी लिफ्ट-खगेरी सिँचाइ : २४सै घण्टा पम्प सञ्चालन गर्दा मासिक ४२ लाखसम्म विद्युत खर्च

नेपाल प्रफिट

२०८३ असोज १, बिहीबार १२:२५

नारायणी लिफ्ट-खगेरी सिँचाइ : २४सै घण्टा पम्प सञ्चालन गर्दा मासिक ४२ लाखसम्म विद्युत खर्च

चितवन । चितवनको नारायणी लिफ्ट-खगेरी सिँचाइ आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई २४सै घण्टा नारायणी नदीबाट पानी तानेर सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ ।

आयोजनाका पम्प २४सै घण्टा सञ्चालन गर्दा मासिक ४२ लाखसम्म विद्युत खर्च हुने गरेको छ । बर्खायाममा पश्चिम चितवनका चार हजार ७०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन नारायणी नदीबाट दुई वटा पम्पमार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ ।

नारायणी लिफ्ट-खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार आयोजनाअन्तर्गत खगेरी सिँचाइ प्रणाली र नारायणी लिफ्ट सिँचाइ प्रणाली सञ्चालनमा छन् । नारायणी नदीबाट पम्पमार्फत पानी तानेर पश्चिम चितवनतर्फको नहरमा पठाइने तथा पूर्वी चितवनको खगेरी खोलामा रत्ननगर-९ टिकौलीको कपरखोरी नजिक बाँध बाँधेर ल्याइएको खगेरी नहरमार्फत पनि सिँचाइ सुविधा उपलब्ध गराइएको उनले बताए ।

उनका अनुसार खगेरी नहरमा बाँध बाँधेर पानी ल्याइने भएकाले नहर मर्मत तथा झारपात सफा गर्नेबाहेक ठूलो खर्च हुँदैन । तर नारायणी लिफ्टबाट पानी तान्दा विद्युतमा ठूलो खर्च हुने गर्दछ । दुवै पम्प निरन्तर सञ्चालन गर्दा प्रतिमहिना करिब ४२ लाखसम्म विद्युत महसुल लाग्ने उनले बताए ।

चालिसेका अनुसार बर्खायाममा असार १२ गतेदेखि असोज ३० गतेसम्म पानीको आवश्यकता रहेमा नहर निरन्तर सञ्चालन गरिन्छ । उनले भने, ‘सिँचाइको मागअनुसार नहर चलाउँदै आएका छौँ । पानी परेका बेला पम्प सञ्चालन गर्नुपर्दैन । तर पानी नपरेर खेतमा सिँचाइ आवश्यक भए निरन्तर पानी छाड्छौँ ।’

उनले हिउँदमा पनि गहुँ, मकैलगायत बालीमा सिँचाइ आवश्यक परे मागअनुसार नहर सञ्चालन गरिने जानकारी दिए । वार्षिक रूपमा विद्युत महसुलमा करिब दुई करोड खर्च हुने उनले बताए।

उनका अनुसार नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीबाट भरतपुर महानगरपालिकाको गीतानगर, पटिहानी, जगतपुर, पार्वतीपुर, मङ्गलपुर, गुञ्जनगर र शारदानगरलगायत पश्चिम चितवनका क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । नहरमा पानी छाडेपछि पश्चिम चितवनका पोखरी, इनार र धारामा पानी आउने गर्दछ । यही पानीको सहायताले पश्चिम चितवनका किसानले धान रोपाइँ गर्दै आएका छन् ।

चालिसेका अनुसार जग्गा प्लटिङ र सहरीकरण बढ्दै जाँदा कतिपय स्थानमा नहर अतिक्रमण भएको छ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्ने नहरको जग्गा विभिन्न व्यक्ति, संघसंस्था, समूह तथा सरकारी निकायले वर्षौँदेखि अतिक्रमण गर्दै आएको उनले बताए ।

खगेरी सिँचाइ प्रणालीबाट तीन हजार ९०० हेक्टर र नारायणी लिफ्ट सिँचाइ प्रणालीबाट चार हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

आयोजनाअन्तर्गत ‘बी’ मूल नहर २२ किलोमिटर, ‘सी’ नहर १४ किलोमिटर र लिङ्क नहर ५०० मिटर लम्बाइको रहेको छ । खेतीयोग्य जमिन प्लटिङ हुँदै जाँदा नहरबाट सिँचाइ हुने क्षेत्रसमेत घट्दै गएको उनले बताए ।

आयोजनाको नारायणी लिफ्टमा २०७९ सालमा नयाँ पम्प जडान गरिएको हो । पम्प सञ्चालन तथा नियन्त्रणका लागि कम्प्युटर प्रणाली प्रयोगमा रहेको छ । कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत तथा आवश्यकताअनुसार म्यानुअल रूपमा पनि पम्प सञ्चालन गर्न सकिने व्यवस्था रहेको चालिसेले जानकारी दिए । यस वर्ष आएको बाढीले पम्प सञ्चालनमा कुनै असर नपारेको आयोजनाले जनाएको छ ।

सम्बन्धित समाचार