• Menu

जासुसी र निगरानीका लागि राज्य समर्थित समूहद्वारा एआईको प्रयोग बढेको एन्थ्रोपिकको दाबी

नेपाल प्रफिट

२०८३ भदौ २६, शुक्रबार १७:३८

जासुसी र निगरानीका लागि राज्य समर्थित समूहद्वारा एआईको प्रयोग बढेको एन्थ्रोपिकको दाबी

एजेन्सी । चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै गएको एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ ।

एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौँ अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको छ । प्रतिवेदनअनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन् ।

एउटा घटनामा इरानी समूहले सामाजिक सञ्जालमार्फत मानिसको पहिचान पत्ता लगाउने विधि विकास गरेको थियो भने मालीका राष्ट्रिय सुरक्षा अधिकारीका लागि काम गर्ने ठेकेदारले एन्थ्रोपिकको एआई मोडेल ‘क्लाउड’ प्रयोग गरी गुप्तचर सूचना संकलनमा सहयोग गर्ने सफ्टवेयर विकास गरेको थियो । एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयाससमेत रोकेको जनाएको छ ।

कम्पनीले चिनियाँ एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाफ तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्यांकबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ । मुनसटले १० दिनमा पाँच हजार ३८० कपटपूर्ण खातामार्फत करिब तीन लाख ग्राहकका अनुरोध एन्थ्रोपिकमा पठाएको दाबी कम्पनीको छ ।

एन्थ्रोपिकले केही जैविक हतियारसम्बन्धी अनुसन्धानमा समेत एआई प्रयोग भएको जनाएको छ । त्यस्ता अनुसन्धानमा चिकुनगुनिया, अत्यधिक रोगजनक बर्ड फ्लू, चेचक तथा मङ्कीपक्ससम्बन्धी भाइरस, विष र अन्य विषाक्त पदार्थ समावेश थिए । यद्यपि अनुसन्धानमा संलग्न वैज्ञानिकहरूको हानिकारक उद्देश्य पुष्टि नभएकाले उनीहरूको पहिचान सार्वजनिक नगरेको कम्पनीले जनाएको छ ।