काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको र अस्पतालको सेवामा कमजोरी देखिए सम्बन्धितमाथि कानुनबमोजिम कारबाही गरिने बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले घटनाबारे जानकारी प्राप्त भएलगत्तै अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजङ्ग रायमाझी पनि छानबिन टोलीमा सहभागी छन्।
मन्त्री मेहताका अनुसार जिल्ला प्रशासन कार्यालय, सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ। घटनाका समयमा ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई तत्काल कामकाजबाट हटाएर छानबिन अघि बढाइएको उनले जानकारी दिइन्।
मन्त्रीका अनुसार प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसव अवस्थामा रहेकी ३० वर्षीया बबिताकुमारी पासवान अस्पताल पुगेकी थिइन्। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डमा भर्ना गरिएको थियो।
आवश्यक जाँचको रिपोर्ट उपलब्ध नभएकाले थप अत्यावश्यक परीक्षण गर्न सुझाव दिइएको थियो। तर उनी र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शय्यामा नरही बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रीले संसद्लाई जानकारी गराइन्।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई पुनः प्रसूति वार्डमा ल्याइएको थियो। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले आवश्यक उपचार तथा स्याहारका लागि अस्पतालमै रहन आग्रह गरे पनि उनी अस्पतालबाट बाहिरिएको जानकारी प्राप्त भएको मन्त्रीको भनाइ छ।
घटनाबारे जानकारी पाएलगत्तै मन्त्रालयले आमा र नवजात शिशुलाई खोजी गरी अस्पताल ल्याएर उपचार गर्न निर्देशन दिएको थियो। हाल दुवैलाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा स्याहार भइरहेको छ। मन्त्रीका अनुसार हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
मन्त्री मेहताले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालबाट प्रदान गरिएको सेवामा कुनै कमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट तथ्यका आधारमा स्पष्ट हुने बताइन्।
मातृ तथा नवजात शिशुको जीवनरक्षा, सुरक्षित प्रजनन र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उनले यस्ता घटना दोहोरिन नदिन सरकार गम्भीर रहेको बताइन्।
सरकारले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रममार्फत सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क उपलब्ध गराउँदै आएको उल्लेख गर्दै मन्त्री मेहताले प्रसूति सेवाका लागि आउने-जाने यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था रहेको बताइन्।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क हुँदाहुँदै कुनै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारिन्।
सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएको भन्दै मन्त्री मेहताले कुनै पनि महिला प्रसव पीडामा स्वास्थ्य संस्थाको ढोकाबाहिर बस्नुपर्ने, सेवा नपाएर फर्किनुपर्ने वा असुरक्षित रूपमा प्रसूति हुनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन्।