एजेन्सी । दक्षिण कोरिया र इरानका विदेशमन्त्रीले शुक्रबार फोनवार्तामार्फत हर्मुज जलघाँटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन् । दक्षिण कोरियाले जलघाँटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्यांकन गरिरहेका बेला दुई देशका विदेशमन्त्रीबीच वार्ता भएको हो ।
दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युनले इरानी समकक्षी अब्बास अराघचीको अनुरोधमा वार्ता गरेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ । केही दिनअघि इरानले द्वन्द्वमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि दबाब दिँदै आएका छन् । विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण हर्मुज जलघाँटीको सुरक्षा गर्न सहयोग मागिए पनि सियोलले यसबारे निर्णय गरिसकेको छैन । दक्षिण कोरियाले अवस्थाको मूल्यांकन गर्न टोली पठाएको छ ।
फेब्रुअरी २८ मा अमेरिका-इरान युद्ध सुरु भएयता हर्मुज जलघाँटीबाट हुने व्यापारिक आवागमन लगभग अवरुद्ध हुँदा विश्वव्यापी ऊर्जा बजार प्रभावित भएको छ । सामान्य अवस्थामा उक्त जलघाँटीबाट विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास निर्यात हुने गर्छ । अमेरिका र इरानबीच वार्ता अवरुद्ध रहेकाले हर्मुजमाथिको नियन्त्रण र सुरक्षा प्रमुख विवादका विषय बनेका छन् ।