काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितका लागि देशका विभिन्न स्थानमा राहत संकलन अभियान तीव्र बनेको छ । विभिन्न संघसंस्था, स्थानीय तह, विद्यालय तथा सर्वसाधारणले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने क्रम बढेको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९१ लाख ८४ हजार ६९५ सहयोग गरेको छ ।
महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाको नेतृत्वमा गएको टोलीले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालमार्फत उक्त रकम कोषमा दाखिला गरेको महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
यसैगरी, झापाको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले बाढीपीडितका लागि रु. ७५ लाख ५३ हजार ९४७ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
प्याब्सन झापामा आबद्ध १३९ विद्यालयमार्फत उक्त रकम संकलन गरिएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए ।
बाराको कलैया उपमहानगरपालिकाले पनि भोटेकोशी बाढीपीडितका लागि ७७ लाख ७७ हजार ७७७ सहयोग गरेको छ ।
पालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नगरप्रमुख विनोदप्रसाद साहले जानकारी दिए ।
बाँकेका निजी विद्यालय तथा विद्यार्थीले समेत बाढीपीडितका लागि ६५ लाख संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
विद्यार्थीहरूले आफ्नो नियमित खाजा खर्चबाट बचत गरेको रकमसमेत राहतका लागि संकलन गरिएको प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ ।