• Menu

भोटेकोशी बाढी : अरनिको यातायातका १८ बस र २९ मजदुर अझै बेपत्ता

नेपाल प्रफिट

२०८३ भदौ २५, बिहीबार १७:२९

भोटेकोशी बाढी : अरनिको यातायातका १८ बस र २९ मजदुर अझै बेपत्ता

काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका नेपाल अरनिको यातायात सेवा प्रालिका २९ जना मजदुर अझै बेपत्ता छन्।

काठमाडौंको जडीबुटीमा प्रधान कार्यालय रहेको उक्त कम्पनीका १८ वटा बस पनि बाढीमा बेपत्ता भएका प्रालिका कार्यालय प्रमुख विकास लामाले जानकारी दिए। पर्यटक लिएर रसुवा गएका तथा पर्यटक लिएर फर्किने क्रममा रहेका बस बाढीमा परेको उनले बताए ।

‘पर्यटक लिएर गएका र कोही पर्यटक लिएर फर्किन लागेको अवस्थामा भोटेकोशी बाढीमा परी हाम्रा १८ बस र २९ मजदुर हालसम्म बेपत्ता छन्। खोजी कार्य जारी छ,’ प्रमुख लामाले भने।

उनका अनुसार बाढीमा परी चालकसहित प्रालिका कुल ३३ जना मजदुर बेपत्ता भएका थिए। तीमध्ये तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको बाढीमा परी मृत्यु भएको र उनको शवसमेत फेला परेको छ।

बाढीमा परी बेपत्ता भएका बसमा कति नेपाली तथा कति विदेशी नागरिक थिए भन्नेबारे पनि यकिन हुन नसकेको जनाइएको छ।

प्रालिले आफ्ना चालक तथा मजदुरको शीघ्र खोजी तथा उद्धार गरी सकुशल घर फर्काउन पहल गरिरहेको जनाएको छ। बाढीपछि विभिन्न निकायको समन्वयमा खोजी तथा उद्धार कार्य जारी रहे पनि प्रालिका बेपत्ता व्यक्तिको यकिन अवस्था अझै खुल्न सकेको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले भोटेकोशी बाढीमा परी बेपत्ता भएका मजदुर तथा सवारीसाधनको खोजी र उद्धारमा महासंघ लागिपरेको बताए।

‘बाढीमा दर्जनौँ सवारीसाधन र मजदुर बेपत्ता छन्। हामी खोजीमा लागिपरेका छौँ,’ अध्यक्ष सिटौलाले भने।

अध्यक्ष सिटौलाले बाढीमा परी बेपत्ता भएका सवारीसाधन तथा मालबाहक सवारीसाधनको बैंकिङ फाइनान्सलगायतका किस्ता तिर्नुपर्ने बाध्यता रहेकाले तत्कालका लागि उक्त बाध्यता रोकिदिन सरकारसँग आग्रह गरे।