• Menu

भोटेकोशी बाढीमा बेपत्ता आठ जनाको कुशको पुत्ला बनाएर दाहसंस्कार, हुम्लाका चार जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १६:३०

भोटेकोशी बाढीमा बेपत्ता आठ जनाको कुशको पुत्ला बनाएर दाहसंस्कार, हुम्लाका चार जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका हुम्लाका चार जनाको काठमाडौंस्थित पशुपति आर्यघाटमा पुत्ला बनाएर दाहसंस्कार गरिएको छ।

यही भदौ १० गते आएको बाढीमा हुम्लाका सात जना बेपत्ता भएका थिए। तीमध्ये चार जनाको भदौ २३ गते १३औँ दिनको पुण्यतिथिका अवसरमा आफन्तले हिन्दू धार्मिक संस्कारअनुसार पुत्ला बनाई दाहसंस्कार गरेका हुन्।

दाहसंस्कार गरिएकामा अनिता रावत, जनक बुढा, कविता बुढा र रियान्सा बुढा रहेका छन्। अनिता र जनक खार्पुनाथ गाउँपालिका-१, गोप्काका तथा कविता र रियान्सा सर्केगाड गाउँपालिका-८ का बासिन्दा हुन्।

उनीहरूका आफन्त भीमबहादुर रोकायाका अनुसार १३ दिनसम्म खोजी गर्दा पनि बेपत्ताको कुनै खबर नआएपछि धार्मिक संस्कारअनुसार दाहसंस्कार गरिएको हो। बाढीमा बेपत्ता भएकामध्ये यसअघि एक जनाको शव फेला परेको थियो भने अन्य दुई जनाको अवस्था अझै अज्ञात छ।

पर्साका चार बेपत्ताको पनि दाहसंस्कार

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी पर्साबाट बेपत्ता भएकाहरूको पनि दाहसंस्कार गर्न थालिएको छ। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नआएपछि परिवारजनले आ-आफ्नो रीतिरिवाजअनुसार दाहसंस्कार गर्न थालेका हुन्।

पर्साको कालिकामाई गाउँपालिकाका आलोक चौरसिया र गौरीशङ्कर चौरसिया, वीरगञ्ज महानगरपालिकाका आरभ चौरसिया तथा पर्सागढी नगरपालिकाका नरेश राईको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ।