• Menu

भोटेकोशी बाढी : लुम्बिनी प्रदेशका २४८ जना अझै सम्पर्कविहीन

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १३:०७

भोटेकोशी बाढी : लुम्बिनी प्रदेशका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना अझै सम्पर्कविहीन छन् ।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका ९, प्युठानका ९ नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का ९, अर्घाखाँचीका आठ, गुल्मीका सात, कपिलवस्तुका ६ र रुकुमपूर्वका चार जना सम्पर्कविहीन रहेका छन् ।

त्यसैगरी, बाढीपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा १५८ शव फेलापरेका छन् । फेलापरेका शवमध्ये ५२ महिला, ९० पुरुष, ६ बालक, ६ बालिका र चार जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ । त्यहाँ ६४ शरीरका अङ्गसमेत फेलापरेका छन् । शव र शरीरका अङ्ग गरी फेलापरेको कुल संख्या २२२ पुगेको छ ।

फेलापरेका शवमध्ये नौ जनाको सनाखत भएको छ । सनाखत भएकामा एक महिला र आठ पुरुष रहेका छन् । बाँकी शव तथा शरीरका अङ्गमध्ये १४२ शव र ६४ शरीरका अङ्ग गरी २०६ वटा व्यवस्थापन गरिएको विवरणमा उल्लेख छ । बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिको खोजी तथा फेलापरेका शव र शरीरका अङ्गको पहिचान एवं व्यवस्थापन कार्य जारी रहेको जनाइएको छ ।

सम्बन्धित समाचार