• Menu

सेमिकन्डक्टर र एआई हार्डवेयरको मागले चिनियाँ निर्यात २५ प्रतिशतले बढ्यो

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १६:२०

सेमिकन्डक्टर र एआई हार्डवेयरको मागले चिनियाँ निर्यात २५ प्रतिशतले बढ्यो

एजेन्सी । चीनको आयात-निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विस्तारसँगै सेमिकन्डक्टर, कम्प्युटिङ हार्डवेयरलगायत प्रविधिजन्य वस्तुको माग बढ्दा चिनियाँ व्यापारले गति लिएको हो ।

भन्सारको सामान्य प्रशासनका अनुसार अगस्टमा चीनको निर्यात २५ प्रतिशतले बढेको छ । जुलाईमा यस्तो वृद्धि २३.९ प्रतिशत थियो । आयात पनि २८.२ प्रतिशतले बढेको छ । यो जुलाईको २७.५ प्रतिशतभन्दा बढी हो ।

घरेलु आर्थिक गतिविधि सुस्त भइरहेका बेला बलियो बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि महत्त्वपूर्ण आधार बनेको छ । जनवरीदेखि अगस्टसम्म कम्प्युटर तथा सम्बन्धित सामग्रीको निर्यात मूल्य ४९.४ प्रतिशतले बढेको भन्सार तथ्यांकले देखाएको छ ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झिवेइ झाङले चीनले अर्थतन्त्रलाई सहयोग गर्न निर्यातमा निर्भरता कायम राखेको बताए । तर प्रमुख व्यापारिक साझेदारसँग बढ्दो व्यापार अधिशेष राजनीतिक विषय बन्दै गएको उनले उल्लेख गरे ।

अमेरिकातर्फ चीनको निर्यात अगस्टमा ३४.४ प्रतिशतले बढेको छ । जुलाईमा यस्तो वृद्धि १७ प्रतिशत थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै महिना हुने अपेक्षित शिखर बैठकअघि व्यापारसम्बन्धी यो तथ्यांक सार्वजनिक भएको हो ।

गत वर्ष ट्रम्प प्रशासनले व्यापक भन्सार शुल्क लगाएपछि अमेरिका-चीन व्यापार सम्बन्धमा तनाव बढेको थियो । दुर्लभ खनिजको आपूर्ति चीनले सीमित गरेपछि दुवै देशले एकअर्काका वस्तुमा लगाएका उच्च शुल्क गत वर्षको अन्त्यतिर अस्थायी रूपमा खुकुलो पारिएका थिए ।

यसअघि विश्वव्यापी व्यापारमा उतारचढावका बाबजुद चीनले गत वर्ष ११० खर्ब अमेरिकी डलरको कीर्तिमानी व्यापार अधिशेष हासिल गरेको थियो । युरोपेली संघ (इयु), दक्षिणपूर्वी एसिया र अफ्रिकातर्फको निर्यात वृद्धिले अमेरिकातर्फको निर्यातमा आएको गिरावटको प्रभाव कम गर्न मद्दत गरेको थियो ।