• Menu

नेपाल नेत्रज्योति संघलाई डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६ प्रदान

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १३:५०

नेपाल नेत्रज्योति संघलाई डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६ प्रदान

काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), दक्षिण-पूर्वी एशिया क्षेत्रीय कार्यालयबाट ‘डब्लुएचओ’ ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ प्राप्त गरेको छ ।

दिली, तिमोर-लेस्तेमा मंगलबार आयोजित ‘डब्लुएचओ’ दक्षिण पूर्वी एशिया क्षेत्रीय कमिटीको ७९ औँ बैठकमा सो विश्व प्रतिष्ठित सम्मान संघलाई अर्पण गरिएको हो । ‘डब्लुएचओ’का महानिर्देशक डा. टेड्रोस अधानोन ग्याब्रियससले संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तलाई उक्त सम्मान अर्पण गरे ।

नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्युनीकरण तथा सर्वसुलभ, समतामूलक र विपन्न, पहुँचबाट बाहिर रहेका समुदाय केन्द्रित नेत्र स्वास्थ्य सेवाको विस्तारमा अतुलनीय योगदान पुर्‍याएवापत ‘डब्लुएचओ’ले पहिलो पटक संघलाई सो विधाको सम्मान अर्पण गरेको ‘डब्लुएचओ’द्वारा यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिका अनुसार सार्वजनिक स्वास्थ्य विधामा नेपाल नेत्रज्याति संघसहित थाइल्याण्डका डा. नित्ताया फानुफाक र भारतका डा के सुरेशकुमारलाई पनि सम्मान प्रदान गरिएको छ ।

अन्धोपन न्यूनीकरण गर्न निरन्तरता

नेपाल नेत्रज्योति संघले विगत करिब पाँच दशकदेखि नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरणका लागि निरन्तर कार्य गर्दै आएको छ । देशभर फैलिएको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रको सञ्जाल, समुदायस्तरमा सञ्चालित आँखा उपचार तथा शल्यक्रिया शिविर, पहुँचभन्दा बाहिर रहेका समुदायसम्म आँखा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम तथा प्राथमिक स्वास्थ्य सेवासँग आँखा स्वास्थ्यलाई एकीकृत गर्ने प्रयासमार्फत संघले मानिसको दृष्टि पुनर्स्थापना गर्न योगदान पुर्‍याउँदै आएको छ ।

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया समेत गरिसकेको छ । संघको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ आँखा उपचार केन्द्रमार्फत नेपाली सहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिरहेको छ ।

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रले भने, ‘नेपाल नेत्रज्योति संघले समुदायको सहभागिता, साझेदारी र स्थानीय आवश्यकतामा आधारित सेवामार्फत सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ । सङ्घको देशव्यापी सेवा प्रणालीले विशेषगरी आर्थिक तथा भौगोलिक रूपमा पछाडि परेका समुदायलाई लक्षित गर्दै निःशुल्क तथा सहुलियतपूर्ण आँखा उपचार र शल्यक्रिया सेवाको पहुँच विस्तारलाई प्राथमिकताका साथ काम गरिरहेका छौँ ।’

‘डब्लुएचओ’ अनुसार नेपालमा अन्धोपनको अवस्था सन् १९८१ मा ०.८४ प्रतिशत रहेकामा सन् २०२०/२१ सम्ममा घटेर ०.२८ प्रतिशत मा पुगेको छ । ‘डब्लुएचओ’ दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालयका अनुसार यस वर्ष सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि १०२ मनोनयन परेका थिए । सार्वजनिक स्वास्थ्यमा प्रभाव, नवीनता, विस्तारयोग्यता, दिगोपन र समतामूलक पहुँचलगायतका आधारमा वरिष्ठ डब्लुएचओ विज्ञ सम्मिलित छनोट समितिले मूल्यांकन गरी अवार्डका प्राप्तकर्ताहरू छनोट गरिएको हो ।

यो सम्मानले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सबैका लागि गुणस्तरीय र पहुँचयोग्य आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न नेपाल नेत्रज्योति संघले गर्दै आएको निरन्तर प्रयासको अन्तरराष्ट्रियस्तरमा भएको महत्वपूर्ण सम्मानका रूपमा अर्थ राख्ने जनाइएको छ ।

संघका महासचिव चन्दका अनुसार संघले यस अवार्डलाई संघसँग आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक, जिल्ला शाखा, आँखा अस्पताल तथा आँखा उपचार केन्द्र, नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विकास साझेदार, दातृ संस्था, स्थानीय समुदाय तथा सम्पूर्ण शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको छ ।

अर्कोतर्फ संघले गत आवमा विदेशी बिरामी मार्फत एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याएको छ । यसबाट स्वास्थ्य पर्यटनमा नयाँ सम्भावनाको ढोका समेत खुलेको जनाइएको छ ।