• Menu

कविता

भोटेकोशीको बाढी-पहिरो : विनाशसँगै बगेका सपना र आँसु

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १३:३२

भोटेकोशीको बाढी-पहिरो : विनाशसँगै बगेका सपना र आँसु

कस्तो अकल्पनीय घटना यो,

अचानक खोलानाला उर्लियो,

भोटेकोशीको भेलले बस्तीहरू बगायो ।

कसैको बास खोसियो, कसैको सास रोकियो,

कठैबरा! हामी नेपालीले कस्तो दुःख पायौँ,

किन आयो यस्तो बाढी र पहिरो ?

 

फेरि कसैको घरबार छिनियो,

कसैलाई करोडपतिबाट रोडपति बनायो,

कसैको रोजगारी खोसियो,

कसैको सपना छिनियो ।

हिजो आशाले सजिएको जीवन

आज पीडा र निराशामा बदलियो—

किन आयो यस्तो बाढी र पहिरो ?

 

कस्तो अकल्पनीय घटना यो,

देशलाई नै स्तब्ध बनायो ।

कतै कसैको आफन्त हरायो,

कसैको खुसीको बदलामा आँसु दियो ।

हिजोको हाँसो आज आँसु बनायो,

हिजोको खुसी आज पीडामा बदलियो

किन आयो यस्तो बाढी र पहिरो ?

 

कसैका अभिभावक खोसिए,

कसैका छोराछोरी खोसिए ।

न त उमेरको कुनै सीमा रह्यो,

न त समयको कुनै ठेगान ।

विधिको विधान र दैवको लीला

कति कठोर र अपार रहेछ !

 

आज कसैको घर सुनसान छ,

कसैको आँगन रित्तिएको छ,

कसैको आँखामा आँसु छ,

कसैको मनमा जीवनभर नमेटिने पीडा ।

 

किन आयो यस्तो बाढी र पहिरो ?

कति सपना बगायो,

कति परिवार उजाड्यो,

कति जीवनमा कहिल्यै नमेटिने घाउ छोडेर गयो ।

(रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाहरुप्रतिको श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै काठमाडौँ सुनचाँदी व्यवसायी संघले सोमबार साँझ आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा संघकी अध्यक्ष रोहिना देवी शाक्यले बाचन गरेको कविता ।)