काठमाडौं । रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
नाइमाले पूर्वनिर्णयअनुसार उपलब्ध गराएको उक्त सहयोग रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमा सञ्चालक समिति सदस्यहरू यमुना श्रेष्ठ र हेमन्त गोल्छा, सिमेक्स इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा नाइमाको सञ्चार तथा प्रविधि सहकार्य संस्थाका तर्फबाट उत्सव कार्कीको सहभागिता रहेको थियो ।
सहयोग हस्तान्तरणका क्रममा नाइमा अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि यसको मूल उद्देश्य विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनु र साथ दिनु रहेको बताइन् ।
उनले नाइमा आबद्ध सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट उक्त सहयोग प्रदान गरिएको उल्लेख गरिन् । विपद् र संकटका समयमा नाइमा सरकार तथा प्रभावित समुदायसँगै उभिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोगका लागि प्रतिबद्ध रहने उनले बताइन् ।
‘यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,’ अध्यक्ष वैद्यले बताइन् ।
रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा क्षतिग्रस्त संरचनाको पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नाइमाले उक्त रकम उपलब्ध गराएको हो।