काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धानबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्दै व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको विकासमा जोड दिनुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
‘डिजिटल रूपान्तरण र नवप्रवर्तन : व्यवसाय, प्रविधि तथा आतिथ्य क्षेत्रको भविष्य निर्माण’ विषयमा आयोजित एकदिने सम्मेलनमा अनुसन्धान, प्रविधि, कृत्रिम बौद्धिकता, पर्यटन, विद्युतीय वित्तीय सेवा तथा आतिथ्य क्षेत्रको विकास र त्यसको प्रभावका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा कलेजकी अध्यक्ष रितल राणाले अनुसन्धानलाई अनुसन्धानपत्र तयार पार्ने कार्यमा मात्र सीमित नराखी त्यसबाट प्राप्त ज्ञान र निष्कर्षलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताइन्। अनुसन्धानले समाजका समस्या समाधान गर्न तथा देशको विकासमा योगदान पुर्याउन सक्ने भएकाले अनुसन्धान र प्रयोगबीचको सम्बन्ध बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
कलेजबाट भइरहेका अनुसन्धान आगामी दिनमा देशका विभिन्न क्षेत्रमा उपयोग गर्न सकिने खालका हुनुपर्नेमा जोड दिँदै राणाले विद्यार्थी तथा अनुसन्धानकर्तालाई नयाँ विषयमा खोज तथा अध्ययन गर्न प्रोत्साहित गर्नुपर्ने बताइन्। अनुसन्धान र नवप्रवर्तनलाई संस्थागत रूपमा अगाडि बढाउनुपर्ने उनको धारणा थियो।
कलेजका अनुसन्धान प्रमुख डा. पदम डंगोलले सम्मेलन अनुसन्धान प्रस्तुत गर्ने थलो मात्र नभई अनुसन्धानकर्ताबीच ज्ञान तथा विचार आदानप्रदान गर्ने र भविष्यका अनुसन्धानका लागि आधार तयार गर्ने माध्यम भएको बताए।
उनका अनुसार अनुसन्धानबाट प्राप्त परिणामले तत्कालीन आवश्यकतासँगै भविष्यमा नयाँ ज्ञान, प्रविधि र समाधान विकास गर्न सहयोग पुर्याउन सक्छ। यस्ता कार्यक्रमले विद्यार्थीमा नयाँ सोच, आत्मविश्वास र क्षमता विकास गर्नुका साथै अनुसन्धानप्रतिको रुचि बढाउने उनले बताए।
डा. डंगोलले आगामी वर्षदेखि मिड भ्यालीको सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। स्वदेश तथा विदेशका अनुसन्धानकर्ता, विज्ञ तथा प्राज्ञिक व्यक्तिलाई सहभागी गराउने गरी सम्मेलनको दायरा विस्तार गरिने उनले बताए। सम्मेलनमा प्रस्तुत अनुसन्धानपत्रलाई आगामी महिनामा लेखका रूपमा प्रकाशन गर्ने तयारीसमेत भइरहेको उनको भनाइ थियो।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सतीशकुमार ओझाले प्रविधिको तीव्र विकाससँगै मानिसको काम गर्ने तरिका, व्यवसाय सञ्चालन गर्ने शैली र सेवा प्रवाहमा ठूलो परिवर्तन आइरहेको बताए।
दिगो विकासका लागि नयाँ प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै उनले प्रविधिलाई उत्पादनशीलता बढाउने, सेवा सहज बनाउने र मानिसको जीवन सरल बनाउने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताए।
पछिल्लो समय कृत्रिम बौद्धिकताको विकास तीव्र भइरहेको भन्दै ओझाले विद्यार्थी तथा अनुसन्धानकर्तालाई यसको सही सदुपयोग गर्न आग्रह गरे। शिक्षा, व्यवसाय, पर्यटनलगायतका क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रयोग गर्न सकिने उल्लेख गर्दै उनले प्रविधिको उपयोग गर्न आवश्यक ज्ञान तथा क्षमता विकास गर्नुपर्ने बताए।
कृत्रिम बौद्धिकताका कारण मानिसको रोजगारी समाप्त हुने चिन्ता बढे पनि त्यसबाट अनावश्यक रूपमा डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो। कृत्रिम बौद्धिकताले मानिसलाई पूर्ण रूपमा विस्थापित गर्नुभन्दा मानिसले गरिरहेका कामलाई सहज र प्रभावकारी बनाउन सहयोग गर्ने उनले बताए।
नर्सिङ, अध्यापन, परामर्श तथा यात्रालगायतका क्षेत्रमा मानवीय संवेदना, अनुभव र प्रत्यक्ष अन्तरक्रिया आवश्यक हुने भएकाले त्यस्ता कामलाई कृत्रिम बौद्धिकताले पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनको धारणा थियो। कृत्रिम बौद्धिकतालाई मानिसको प्रतिस्पर्धीभन्दा सहयोगी प्रविधिका रूपमा बुझ्नुपर्ने उनले बताए।
सम्मेलनमा आचार्य श्री महेन्द्र वसिष्ठले वैज्ञानिक अनुसन्धान र आध्यात्मिक यात्राबीचको सम्बन्धबारे प्रस्तुति दिएका थिए। उनले आधुनिक समाजमा मानसिक तनाव र असन्तुलन बढ्दै गएकाले मानिसको मानसिक शान्तिमा समेत ध्यान दिनुपर्ने बताए।
विज्ञान तथा प्रविधिको विकाससँगै मानिसको आन्तरिक शान्ति र मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले ध्यान तथा आध्यात्मिक अभ्यासले मानिसलाई मानसिक रूपमा शान्त र सकारात्मक बनाउन सहयोग गर्ने धारणा राखे।
उनका अनुसार प्रविधिले मानिसको बाहिरी जीवन सहज बनाए पनि आन्तरिक शान्तिका लागि व्यक्तिगत अनुशासन, ध्यान र सकारात्मक सोच आवश्यक हुन्छ। आधुनिक प्रविधि र आध्यात्मिक चेतनाबीच सन्तुलन कायम गर्न सके मात्र मानिसको समग्र विकास सम्भव हुने उनले बताए।
सम्मेलनमा व्यवसाय, प्रविधि, पर्यटन, वातावरण, विद्युतीय वित्तीय सेवा, स्वास्थ्य, यातायात तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विभिन्न अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो।
सम्मेलनमा पोखरा उपत्यकाको पर्यटन क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रभाव, काठमाडौं चक्रपथ क्षेत्रमा सहरी हरित क्षेत्रको विकास, नेपालका तालमा पानीको सतहको तापक्रमसम्बन्धी असामान्यता, नेपालको दिगो पर्यटनका अवसर तथा चुनौती र काठमाडौंका विश्वविद्यालयका विद्यार्थीमा प्रारम्भिक सार्वजनिक निष्कासनमा सहभागिताका निर्धारक तत्वलगायत विषयमा अनुसन्धान प्रस्तुत गरिएको थियो।
त्यस्तै, विद्युतीय सवारीसाधनको ब्याट्री, विद्युतीय भुक्तानी सेवा, विद्युतीय वित्तीय सेवा, सार्वजनिक यातायात, विद्युतीय रकम भुक्तानीको माध्यम, विद्युतीय साक्षरता, बीमा प्रविधि, यन्त्र सिकाइ, स्वास्थ्य अभिलेख व्यवस्थापन, डिजिटल स्वास्थ्य, सूचना सुरक्षा तथा गोपनीयता, संस्थागत सुशासन र डिजिटल उद्यमशीलतासम्बन्धी अनुसन्धानपत्रसमेत प्रस्तुत गरिएको थियो।
आयोजकका अनुसार सम्मेलनले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा प्रविधि र व्यवसाय क्षेत्रका सरोकारवालाबीच अनुसन्धान, नयाँ प्रविधि तथा नवप्रवर्तनका विषयमा ज्ञान र अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal